अत्तरिया – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त दिन आह्वान गरिएको छ । असोज २८ गते विश्वविद्यालय सभाले उपकुलपति वा रजिष्ट्रार नियुक्तिका लागि गठन गरेको सिफारिस समितिले उक्त पदकका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त बुझाउने समय १५ दिन तोकिएको छ भने दरखास्त बुझाउने ठाउँ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा उल्लेख छ ।
दरखास्त सिफारिस समितिले १४ कात्तिकमा स्वीकृत गरेको कार्यविधि अनुसार पेस गर्न गर्नुपर्ने छ । उपकुलपतिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधा (हेल्थ प्रोफेसनल एजुकेसन) मा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने छ ।

कुनै विश्वविद्यालयको प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ । दरखास्त दिनु तत्कालअघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने भनिएको छ ।

यस्तै रजिस्ट्रारको उम्मेदवारको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने छ ।
उच्च शिक्षामा प्राध्यापन वा प्राज्ञिक अनुसन्धान वा स्वास्थ्य सेवाको कार्यकारी प्रशासनको पदमा वा नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पद वा सोभन्दा माथिको पदमा कम्तीमा पाँच वर्ष कार्य अनुभव हासिल भएको हुनुपर्ने छ ।
दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष उमेर पूरा भई ६१ वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।


















