प्रा. डा. युवराज संग्रौला – ५/७ वर्ष अगाडि सम्म युवाहरू ‘राजनीतिलाई फोहोरी खेल भन्थे ।’ अनि युवा राजनीति दलका पेशेवर संगठनको हातमा थियो । उनीहरू सँग आतङ्कित हुनुपर्थ्यो । कहिले काहीँ एउटै ढोकामा ६ वटा ताला लगाउँथे उनीहरू । त्यसका विरुद्ध कोही बोल्दैनथे ।
२०८२ सालमा अचानक जेनजीहरुको आन्दोलन भयो, भ्रष्टाचारको विरुद्धमा । तर देशको विदेश नीतिको अस्वस्थ अवस्था, कृषि उत्पादनको कन्तबिजोग, उद्योगको विस्तार र आधुनिकीकरण, शिक्षाको पतनमुखी गुणस्तर, विद्यार्थीको पलायन, संस्कृति माथिको अतिक्रमण, र जीवनका प्रत्येक पक्षमा नव उपनिवासवादको विरुद्धमा कतै कुनै आवाज र सरोकार भने यस आन्दोलनले मुखरित गर्न सकेन ।

यो आन्दोलनलाई हाई ज्याक गर्ने तत्त्व हाबी देखियो । आन्दोलन केवल सत्ता परिवर्तन तर्फ केन्द्रित भयो । आन्दोलनमा सरिक हुने व्यक्तिहरूमा केवल ‘नेतृत्व प्रति विद्रोह देखियो ।’ त्यो विद्रोह सँग ‘कस्तो समाज बनाउने भन्ने कुनै योजना देखिएन । आन्दोलनमा आउन उहाँहरूले अनुरोध सबैलाई अनुरोध गर्नु भएन र कुनै रणनीतिक विचार पनि थिएन । सायद त्यसकै परिणाम आन्दोलनमा ठुलो घुसपैठ भयो, र अब त विदेशी पत्रीकाले पनि लेखे ‘विध्वंस स्वतःस्फूर्त थिएन ।
१. विद्रोहका नामका सबै विध्वंसका बाबजुद मलाइ युवाहरू राजनीतिको मैदानमा आएको कुराले खुसी पारी रहेको थियो । लाग्यो, ‘देशका लागि भविष्यको नेतृत्व बन्दै छ, र देश भोलि उन्नत विचार सिल व्यक्तिको नेतृत्वमा अगाडि जानेछ । ‘तर खोइ रु देश त अलमलिएको छ । जेनजीका समूहको ‘मन्त्री खोजको दौड मात्र’ देखिन्छ ।
२. मनोविज्ञान के देखिन्छ भने ‘देश काठमाडौँ मात्र हो ।’ अझ, देश बनाउन चाहिने भनेको ‘विद्रोही उद्दण्डता मात्र हो । देश बनाउन सोच र योजना चाहिन्छ । केही जटिलता छन्, जस्तै
(१) संसारका शक्ति राष्ट्र बनिसकेका दुइटा छिमेकीका बिचको सम्बन्धलाई कसरी सन्तुलन गर्ने,
(२) आयातमा आधारित उत्पादनहीन अर्थतन्त्रको उद्धार कसरी गर्ने,
(३) कुसंस्कारमा उभिएको राजनीतिक प्रणालीको प्रतिस्थापन कसरी गर्ने,

(४) संस्कृति, सभ्यता र मौलिक सद्भाव विरुद्ध तयार पारिएको उत्पादन प्रति विमुख र रोजगार विहीन शिक्षा कसरी परिवर्तन गर्ने, लगायतका अनेक प्रश्न छन् । तर वर्तमान जेनजी आन्दोलन यसतर्फ कतै संवादमा छैन र सरोकार पनि देखिन्न । सबैलाई मात्र ‘प्रत्यक्ष निर्वाचन चाहिएको छ ।’ अर्थात् कही कतै ‘एक थान प्रत्यक्ष प्रधानमन्त्री स्थापित गर्ने योजना बनिबनाउ छ ।’
अर्कातिर हेर्यो, जेनजीको कतै सङ्गठन छैन, र जताततै विदेशीले स्थापना गरेको सङ्गठनका सदस्यको जमात छ । अहिले सम्ममा एउटा कुरा त स्पष्ट छ, त्यो हो, नेपालमा नियन्त्रित अस्थिरता निर्माण गर्ने शक्तिहरूको प्रतिस्पर्धा चलिरहेको छ ।
३. प्रश्न देशको स्वाधीनताको छ । तर सतहमा लडाइ ‘राजा ल्याउने कि नल्याउने र राजनीति दलहरूमा नेतृत्व परिवर्तन हुने कि नहुने’ भन्ने कुरामा छ । यो लडाइमा राजसंस्थाका ‘राजा पुनर्स्थापित गर्ने कि नगर्ने र दलका राजाहरू यथावत् रहने कि नरहने’ छलफल मात्र छ । दलका राजाहरू मरुन्जेल गद्दी नछोड्ने पक्षमा छन् । राजसंस्थाका राजा पुनर्स्थापित गर्ने कि नगर्ने सम्बन्धमा योजना आन्दोलनको मात्र छ ‘छलफल र राष्ट्रिय एकता निर्माणको योजना छैन ।’ तर, दलका राजाहरू विस्थापित भएर अरू आएपनी र राजसंस्था पुनर्स्थापित भएपनी नेपालले अहिले भोगी रहेको ‘भूराजनीति’ को खतरनाक ताप आफैँ सम्बोधन हुने छैन । अतः मूल प्रश्न त देशको स्वाधीनताको हो । त्यो स्वाधीनताको कुरा कहि कतै ‘पत्रकार दिवाकर साहले उठाइरहेको प्रश्नले बोलिरहेको छ’
यो जटिल अवस्थामा असङ्गठित जेनजी आन्दोलन आपसमा टुटफुट र आफ्नो दम्भका खेलमा विदेशी कै गोटी भएर सकिने खतरा देखिदैंछ । उनीहरूको आन्दोलनमा उनीहरूले बौद्धिक र अन्य तप्काका जनतालाई जोड्ने चाहना राखेको देखिँदैन । यो आन्दोलनभित्र बाहिर जे देखिएपनी कुनै शक्ति कसैलाई स्थापित गर्न चाहन्छ भन्ने देखिन्छ र ‘त्यो जेनजी भने पक्कै होइन ।’ जेनजीलाई प्रधानमन्त्री र मन्त्री बनाउदैमा समस्या समाधान हुने पनि होइन, देशले अहिले खोजी रहेको कुरा त :
(१) देशभक्त, प्रगतिशील र सामाजिक उदारवादीहरू बिचको एकता हो,
(२) सार्वजनिक क्षेत्रको व्यवस्थापनमा उत्पादन र व्यापारमा नागरिकहरूको लगानी वा निजी अर्थतन्त्र र बस्तु बजारको बिस्तार र संरक्षण हो,
(३) कृषि उत्पादनको उत्थान र कृषक संरक्षण हो,
(४) शिक्षाको नव उपनिवेश करणको अन्त र यसको उत्पादनशील गुणस्तरको विकास हो, र
(५) देशलाई राजनीति कुसंस्कार र भ्रष्टाचारबाट मुक्त गर्नु हो । यी रणनीतिक उद्देश्य पुरा गरेर देशको स्वाधीनताको संरक्षण नै जेनजीको भूमिका हो भनेर कसले बुझाउने वा त्यो बुझाउने आँट कसले गर्छ यो प्रश्न उनुत्तरीत रह्यो भने देशले अझ अर्को विद्रोह जन्माउने छ जसले देश पराधीन हुन सक्ने छ ।


















