हमासको अपहरणमा परी गाजापट्टीमा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको भिडिओ फुटेज सार्वजनिक गर्ने तयारी भएको छ । बन्धक परिवार फोरम (होस्टेज फ्यामिलिज फोरम) ले बुधबार एक विज्ञप्ति जारी गर्दै आज बेलुकी उक्त फुटेज सार्वजनिक हुने जानकारी दिएको हो ।
इजरायली अनलाइन मिडिया ‘टाइम्स अफ इजरायल’ लगायतका विभिन्न माध्यमले आज नै विपिनको तस्बिर सार्वजनिक गरेका छन् । उक्त तस्बिर विपिनको परिवारको अनुमतिमा उनको अपहरणपछिका केही हप्तामा खिचिएको करिब ३० सेकेन्डको भिडिओबाट लिइएको बताइएको छ ।


‘होस्टेजेज एन्ड मिसिङ फ्यामिलिज फोरम’ का अनुसार उक्त रेकर्डिङ इजरायली सेनाले प्राप्त गरी गुप्तचर अधिकारीमार्फत जोशीको परिवारलाई देखाएको थियो । भिडिओ आज इजरायली समय अनुसार बेलुका ७:५५ बजे (नेपाली समय अनुसार राति बेलुका १०:४० बजे) सार्वजनिक गरिने बताइएको छ ।
फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज हामी तपाईंहरूसँग साझा गर्दै गरेको गाजामा भेटिएको जीवनको संकेतले उनी जीवित रहेको हाम्रो दृढ विश्वासलाई अझ प्रबल बनाएको छ ।” फोरमका अनुसार उक्त रेकर्डिङ इजरायली सेनाले प्राप्त गरी गुप्तचर अधिकारीमार्फत जोशीको परिवारलाई देखाएको थियो । यो भिडिओ सन् २०२३ नोभेम्बर महिनामा खिचिएको अनुमान छ । विपिनको पछिल्लो अवस्था भने अज्ञात छ ।
कञ्चनपुरका विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए । सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा उनी अपहरणमा परेका थिए ।


















