प्रा. डा. युवराज संग्रौला – देश विदेशमा बस्ने सबै नेपाली दिदी बहिनी तथा दाजुभाइ र नाता संगतीलाई दसैँको हार्दिक शुभकामना। यहाहरुको स्वास्थ्य र समृद्धिको कामना गर्दछु।
देश आज बिमारी छ। समाजको स्वास्थ्य पनि पिरोलो लाग्दो छ। एक जना महान् व्यक्तिले भनेका छन् “अस्वस्थ समाजमा नागरिक पनि अस्वस्थ हुन्छ। र, अस्वस्थ नागरिकको समाज पनि अस्वस्थ हुन्छ।”
१. यो बिरामी समाजको निर्माण कसले गर्यो? यो प्रश्नमाथि गम्भिर छलफल नभै देशमा राजनीतिक उथलपुथल हुँदा राष्ट्र समेत भष्म भयो, निर्दोष युवा हताहत भए। “राष्ट्रको अस्तित्व त मात्रै असल र सफल राज्यव्यवस्थामा निहित रहन्छ भने राज्यव्यवस्थाको सफलता असल राजनीति नेतृत्वमा निहित रहन्छ, र असल राजनीतिक नेतृत्वले सिद्धान्त, नैतिकता, र जनउत्तरदायित्वलाई अपरिहार्य गुण मान्दछ।”
नेपालमा पछिल्लो ३० वर्षमा यसकै अभावले नेपाली समाज अस्वस्थ भयो। सिंहदरबारको तागत र “जनताका नाममा उनीहरूले भ्रष्टाचार गरेर कमाएको सम्पती, माफियाले दिएको कमिसन, र राज्यको कोषबाट चोरेको घनबाट प्राप्त आलिसान जिवनपद्धतीले नेतृत्वलाई अस्वस्थ बनायो।” अस्वस्थ नेतृत्वले समाजलाई नै अस्वस्थ बनायो। पोखरी प्रदूषित भएपछि त माछा अस्वस्थ त हुने नै भए।
२. किन भयो राजनीतिक नेतृत्व यस्तो प्रदूषित? उत्तर सिधा छ। नेतृत्व सिद्धान्त र अनैतिक भयो। हरेक राजनीति दलले बोकेको सिद्धान्तले उसको “बर्गआधार” निर्धारण गर्दछ।समाजवादले श्रमिक र गरिब तप्काका नागरिकलाई आफ्नो बर्गआधार मान्छ। पुँजीवादले पुँजीपतिलाई आफ्नो बर्गआधार मान्दछ। परम्परावादीले कुलीन र राष्ट्र बादीले राष्ट्रको इतिहास र गौरव सँग जोडिएका मान्छेलाई आफ्नो बर्गआधार मान्दछन्। उनीहरू सबैले राष्ट्रको सार्वभौमसत्ताको पक्षधरताको वरिपरि, राष्ट्रिय सुरक्षा र स्वतन्त्रताको जिम्मेवारी लिँदै आफ्नो वर्गको उद्धार र समृद्धिलाई विशेष जोड दिन्छन्। अतः जब सिद्धान्त पतन हुन्छ उनीहरूको बर्गआधार भत्किन्छ र नेतृत्व कुलिनबर्गमा स्थानान्तरण भई सत्ताको भोको, दुराचारी र भ्रष्टाचारी बन्दछ। नेपाली समाज रोगी हुनुको जरो कारण यही हो।

३. २०५२ सालपछि नेपालमा सिद्धान्तहीनताको भाइरस नेपालको राजनीतिमा पस्यो। त्यसैले अनेकौँ सिद्धान्तहीन र अपवित्र गठबन्धन बने। सासंदहरुको किनबेच भयो। कांग्रेसको प्रजातान्त्रिक समाजवादलाई नवउदारवादको बिष खुवाएर हत्या गरीयो। वामपन्थीहरू महाकाली संन्धी गर्दै, क्रमशः समाजवादको बाटोबाट अलगिंदै, पश्चिमी पैसाले चलेका एनजिओका दास हुँदै भेडाको छालामा सजिएका स्याल र फ्याउरा बन्न पुगे। उनीहरूले श्रमजीवीलाई छोडी दिए। थोरै केही वामपन्थी यान्त्रिक बने र नागरिक र देशको सेवाबाट विमुख भए।
४. यसले नेपालमा “राजनीतिक कुसंस्कार र न्यूनतम लोकतान्त्रिक मान्यता तोड्दै “कालू कालू मिलेर खाउँ आलु” को सिद्धान्त लागु गर्दै, अपवित्र गठबन्धन, बनाउँदै सत्ताको दुरुपयोग गरे। दूषित तरीकाले धन कमाउन थाले। कमिसन खानु उनीहरूको व्यवसाय बन्यो। जनतामाथि प्रत्येक कदममा कर थोपरे शोषण गर्न थाले। बस्तुको मूल्यमा कर थपेर भाउ तोक्ने र कर माथि भ्याट लगाउन थाले। आज हरेक खातापिता नेपाली पनि गरिब बन्दै छ।
५. उनीहरूले थोरै नेता, राजनीतिक व्यापारी, माफिया, र व्यापारीका नामका लुटेराको सम्भ्रान्त वर्ग सिर्जना गर्दै (१) किसान र श्रमिकले बस्न नसक्ने देश बनाए, र (२) शिक्षालाई नै वर्ग निर्माण गर्ने थलो बनाए। कसरी?
६. तल्लो आर्थिक तहका ४०% गरिबका छोराछोरीले पढ्ने स्कुलहरू राजनीति दलका कार्यालय जस्तै छन्। अतः गाउँका गरिबलाई उन्नत शिक्षामा पहुँच छैन। सहरमा बोर्डिङ छन्, सरकारले कुनै सहुलियत त दिँदैन, बरु कर लिन्छ। विद्यार्थीका शुल्कले चल्ने यी स्कुलमा मध्यम ४०% जनसङ्ख्याका बाबुआमाले “सबै कमाइ हालेर एवंम ऋण लिएर” छोराछोरी पढाउँछ्न र छोराछोरी पढाउँदा गरिब बन्छन्। विदेशमा गएर काम गर्दा कमाएको छोराछोरी पढाउनमै सक्छन्। यी स्कुलमा आडम्बर छ। संस्कृति र मातृभाषा समाप्त हुन्छ। माथिल्लो २०% ले ६०/७० हजार तिरेर विदेशी पाठ्यक्रम पढाउँछ्न र कुलीन समाजको निर्माण गर्छन्।
७. अहिले नेपालको उच्च शिक्षामा पुगेका पाँच लाख पचास हजार विद्यार्थी माथिल्लो २०% धनी वा उच्च मध्यम परिवारको अधीनमा छ। यहाँ अध्ययन गर्ने ८०% विद्यार्थी यस २०% बाट आउँछ्न। तलको ४०% जनताका छोराछोरी, स्कुल तह नसकी बाहिरीन्छ्न। उनीहरू अरब र मलेसिया पुग्छन् किनभने खेती गर्दा टाट पल्टिन्छ। मध्यम ४०% जताततै छरिन्छ, याता विदेश गएर उतै बस्छ वा सहरिया सानोतिनो बिजनेस र जागिरमा लाग्छ। सबै डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट, वकिल, आदि हुने त तेहि माथिल्लो २०% बाट हो। उसैले सरकारका पदमा अधीन जमाउँछ। त्यस भित्रको ५% का अधीनमा देशको अर्थतन्त्र छ।जेन्जी आन्दोलनमा पनि यही २०% को बाहुल्यता थियो। आइफोन र प्याड बोक्ने त यही तह हो र विदेशी एनजिओमा पहुँच भएको पनि यही वर्ग हो।

८. यो विषम वर्ग कसले जन्मायो? कांग्रेस र सत्ताधारी कम्युनिस्टका सिद्धान्तहीन शासनले होइन र? आज माथिल्लो ५% भित्र को छ? यिनै पार्टीका राजनीतिमा अधीन जमाएर बसेका नेता, उनलाइ पाल्ने माफिया, र भ्रष्ट कर्मचारी। तर अहिले घर नजलाइएका वैकल्पिक भनिने रास्वपा र राप्रपाका नेता पनि यही वर्गमा पर्छन्। उनीहरूका घर चैँ किन जलेनन्? घुसपैठ गरेर जेन्जी पुस्ताको आन्दोलन भाँड्नमा यिनको हात त छैन?यो प्रश्नको उत्तर भविष्यमा आउने नै छ।
९. तसर्थ, जेन्जी आन्दोलनको वर्गीय विश्लेषण हुनु आवश्यक छ। यो आन्दोलनको उद्देश्य विदेशीले ध्वस्त पारेको शिक्षाको उद्धार गरेर स्वरोजगार निर्माण गर्नु पनि हुनुपर्थ्यो? तर यो माग त थिएन। देशको कृषिको वैज्ञानिकीकरणका लागि यो आन्दोलन हो? होइन। यो माग पनि थिएन। देशका युवालाई डिजिटल क्रान्तिमा लगाउन हो? होइन। यो माग पनि थिएन। पलाएन रोकेर देशमा रोजगारी निर्माण गर्नु हो? होइन। यो माग पनि थिएन। नेपालको इतिहास र संस्कृतिको संरक्षणका लागि हो? होइन। यो माग पनि थिएन। चर्किँदो भूराजनीतिलाई व्यवस्थापन गर्दै, राष्ट्रको स्वतन्त्रता र विदेशी बढ्दो हस्तक्षेप रोक्नु हो? होइन। यो माग पनि थिएन। यो आन्दोलन अधुरो थियो। यी मागहरू सहित बौद्धिकहरूको आन्दोलन आज देशले मागी रहेको छ।
१०. भ्रष्टाचारको विरोध आवश्यक थियो। तर अफसोस जेन्जी आन्दोलन उनीहरूको नेतृत्वमा थिएन। कोही अरू अँध्यारो कोठामा बसेर “जेन्जी” को काँधमा चढेर (१) भूराजनीतिको खेल खेल्दै थियो। (२) कोही उनीहरूलाई अगाडी सारेर बाटोमा जनता निकाल्ने र विध्वंस गरी पुराना कुलिनहरू लखेटेर आफ्नो कुलीनता जमाउन र निरङ्कुशता लाद्न चाहन्थ्यो। सडकमा गोली खाने (१) तल्लो ४०% गरिब र (२) दोस्रो ४०% न्यून मध्यम परिवारका जीवन सपार्न सडकमा आएका विद्यार्थी थिए। अरू त फेसबुक र इन्स्टाग्राममा आन्दोलन गर्ने जेन्जी थिए। यो आन्दोलनको समर्थन र प्रतिनिधित्व गर्ने भनिएका थुप्रैका बाबु हजुरबाबु त जीवनभर राज्यकै सत्तामा बस्ने थिएनन् र? एक थरी नेपोबेबिज अर्का थरी नेपालोबेबिजको विरोध गर्ने विदेशी संस्थाका सदस्य थिए। बस, आम जन तहका जेन्जीका काँधमा चढेर, सम्भ्रान्त जेन्जी सत्ताको परिवर्तन गर्न उनका बाबुआमाको स्वार्थ पूर्ति गरिरहेका थिए, अनि विदेशीका लागि मेरो देश जली रहेको थियो।
लोकतन्त्र र देशको समृद्धिका लागि लडेका राजनीति दलका नेताले सिद्धान्त र वर्ग आधार छोडेर भ्रष्टाचारबाट सम्पत्ति सोर्दा जन्मिएको निराशा र आक्रोशले जन्मेको विद्रोहलाई सम्भ्रान्त र विदेशीले प्रयोग गरे। मेरो देश जल्यो, जेन्जीको बलिदानले केही पाएन। अब त चेतना भएका बौद्धिक र इमानदार राजनीतिक कर्मीका आँखा खुल्नुपर्छ।


















