डम्मर सिंह साउँद – नेपालको संस्थागत र प्रशासनिक प्रणालीमा देखिएको वातावरणीय असहजता र कर्मचारीहरूको प्रेरणाको कमीको जड नेतृत्वको गुणस्तरमा निहित छ भन्ने कुरा अब लुकाएर राख्न सकिने अवस्था छैन । नेपालको सरकारी र गैरसरकारी दुवै खालका संस्थाहरूमा काम गर्ने धेरैजसो कर्मचारीहरूले आफूले गरेको श्रम र योगदानको मूल्याङ्कन नपाएको, आफ्नो क्षमता र दक्षताको सम्मान नभएको, र कार्यस्थलमा व्यक्तिगत विकास र पेशागत उन्नतिको अवसर सीमित भएको अनुभव गरेका छन् । यो असन्तोषको मुख्य कारण नेतृत्व तहमा योग्य, दूरदर्शी, र नैतिक मूल्यमा आधारित व्यक्तित्वको अभाव हो ।
नेतृत्वको स्थानमा पुग्ने अधिकांश व्यक्तिहरू राजनीतिक पहुँच, व्यक्तिगत सम्बन्ध, चाकरी, र चापलुसीजस्ता गलत प्रवृत्तिहरूको माध्यमबाट नियुक्त हुने प्रवृत्ति बढ्दो छ । यसरी अस्वस्थ प्रतिस्पर्धा र पक्षपाती छनोट प्रणालीले नेतृत्वको पदलाई जिम्मेवारी र दृष्टिकोणको भन्दा शक्ति प्रदर्शन र व्यक्तिगत लाभको माध्यम बनाएको छ । यस्तो परिस्थितिमा नेतृत्वको भूमिका प्रेरणादायी र प्रगतिशील बन्नुको साटो निराशाजनक र अवरोधक बन्न पुगेको छ, जसको असर केवल कर्मचारीको मनोबलमा मात्र होइन, संस्थागत कार्यक्षमता र राष्ट्रको समग्र विकासमा प्रत्यक्ष रूपमा देखिन्छ । यसले गर्दा संस्थामा विद्यमान दक्ष जनशक्तिहरू आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्न असफल भइरहेका छन्, उनीहरूको सर्जनशीलता र नवप्रवर्तन गर्ने क्षमता दबिएको छ, र यसको परिणामस्वरूप संस्थाहरू निष्क्रिय, अव्यवस्थित, र प्रतिस्पर्धाहीन भइरहेका छन् । नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा नेतृत्वको गुणस्तरले सामाजिक, आर्थिक, र सांस्कृतिक प्रगतिलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ भन्ने कुरा अब स्पष्ट भएको छ । त्यसैले नेतृत्वलाई केवल पद प्राप्त गर्ने माध्यम वा अधिकारको खेलको रूपमा मात्र हेर्ने दृष्टिकोणबाट बाहिर निस्कनु र यसलाई जिम्मेवारी, दृष्टि, र प्रेरणादायी चरित्रको माध्यम बनाउनु अबको प्रमुख आवश्यकता हो ।

नेतृत्व भनेको केवल हाकिमगिरी गर्ने शैली वा आदेश दिने प्रवृत्तिको पर्याय होइन; यो त्यस्तो कला र क्षमता हो जसले संस्थाभित्र सकारात्मक ऊर्जा प्रवाह गराउन सक्छ, जसले सहकर्मीहरूलाई काममा उत्साहित, जिम्मेवार, र समर्पित बनाउँछ । सही नेतृत्वले आफ्नो टीमलाई प्रोत्साहित गरेर उनीहरूको क्षमता उजागर गर्न प्रेरणा दिन्छ र उनीहरूलाई मूल्यवान् महसुस गराउँछ । तर नेपालको वास्तविकतामा देखिने प्रवृत्तिहरू उल्टो छन्; यहाँ प्रायः नेताहरूले आफ्नो पदलाई व्यक्तिगत शक्ति र सम्मानको माध्यमका रूपमा प्रयोग गर्ने गरेको देखिन्छ, जसले गर्दा कर्मचारी र सहकर्मीहरूले कार्यस्थललाई बोझको रूपमा लिने गर्छन् । यस समस्याको समाधान खोज्न हामीलाई नेतृत्वको शैली, दृष्टिकोण, र व्यवहारमा ठुलो परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ । नेतृत्वले आफ्नो सहकर्मी र अधीनस्थहरूसँगको सम्बन्धलाई केवल आदेश दिने र मूल्याङ्कन गर्ने आधारमा होइन, सहयोग र प्रेरणा दिने आधारमा निर्माण गर्नुपर्छ । जब नेतृत्वले सहकर्मीहरूको भावना बुझ्छ, उनीहरूको योगदानलाई मूल्य दिन्छ, र उनीहरूको सुधारका लागि समय र स्रोत विनियोजन गर्छ, तब मात्र कार्यक्षेत्र प्रेरणादायी र समर्पणयुक्त बन्छ । तर यसको लागि नेतृत्वमा नैतिकता, मानवता, र पारदर्शिताको मूल्य आत्मसात गर्नुपर्ने हुन्छ ।
नेपालको नेतृत्व प्रणालीमा देखिएको प्रमुख चुनौती भनेको आलोचनात्मक प्रतिकृया दिन र लिने संस्कृतिको कमी हो । धेरैजसो संस्थामा नेताहरू कर्मचारीलाई स्पष्ट, ईमानदार, र संवेदनशील प्रतिकृया दिन सक्दैनन् । प्रतिकृया दिने नाममा गरिने कठोर आलोचनाले कर्मचारीलाई निराश मात्र बनाउँछ, उनीहरूको आत्मविश्वास घटाउँछ, र संस्थागत सम्बन्धहरूमा तनाव सिर्जना गर्छ । तर असल नेतृत्व भनेको कठिन कुरा पनि सजिलै र सम्मानपूर्वक भन्न सक्ने कला हो, जसले कर्मचारीलाई सुधार्ने मौका दिन्छ र उनीहरूको क्षमता उजागर गर्न प्रेरणा दिन्छ । असल नेतृत्वले आफ्नो टोलीलाई मात्र आलोचना गरेर होइन, उनीहरूको विकासका लागि ठोस मार्गदर्शन र सहयोग दिएर अगाडि बढाउँछ । यसरी नेतृत्वले विकासमुखी आलोचनाको संस्कृति निर्माण गर्न सकेमा कर्मचारीहरूले आफ्नो कमजोरीलाई स्वीकार गरेर सुधार गर्न सजिलो महसुस गर्छन्, जसले संस्थाको सामूहिक उत्पादकत्वमा ठुलो योगदान पु-याउँछ ।
नेपालका संस्थागत संरचनामा अर्को गम्भीर समस्या भनेको पारदर्शिता र विश्वासको कमी हो । धेरैजसो नेताहरूले आफ्नो पदको कारण आफूलाई उच्च ठान्छन्, आफ्नो गल्ती स्वीकार गर्न सक्दैनन्, र कर्मचारीहरूसँग खुला संवाद गर्ने वातावरण सिर्जना गर्दैनन् । तर प्रभावकारी नेतृत्व पारदर्शिता र आत्मसमीक्षामा आधारित हुन्छ । जब नेतृत्वले आफ्नो कमजोरी र चुनौतीहरू स्वीकार गर्छ, तब मात्र टोलीभित्रको विश्वास बलियो हुन्छ । यस्तो वातावरणले कर्मचारीहरूलाई सुरक्षित महसुस गराउँछ, जसले गर्दा उनीहरूले डरबिना आफ्नो विचार, सुझाव, र नवप्रवर्तनात्मक सोच प्रस्तुत गर्न सक्दछन् । नेपालमा प्रायः हाकिमगिरी शैलीको नेतृत्व हावी भएकाले कर्मचारीहरूले आफ्ना विचार राख्दा डराउने र बोल्न संकोच गर्ने संस्कृति विकास भएको छ । यसले संस्थाको विकासलाई अवरुद्ध मात्र गर्दैन, दक्ष जनशक्तिको क्षमतालाई पनि दवाउँछ । यस प्रवृत्तिलाई तोड्न नेतृत्वले खुला संवाद, विचार आदानप्रदान, र सामूहिक निर्णय प्रक्रियाको अभ्यास गर्नुपर्छ ।
नेतृत्वको अर्को महत्वपूर्ण पक्ष भनेको सुन्ने क्षमतामा निर्भर हुन्छ । नेपालका धेरैजसो नेताहरूले आदेश दिने शैलीलाई मात्र नेतृत्व ठान्छन् र आफ्ना कर्मचारीहरूको कुरा सुन्न समय दिँदैनन् । तर वास्तविक नेतृत्व भनेको अरूको कुरा ध्यानपूर्वक सुन्ने, तिनीहरूको समस्या र सुझावलाई मूल्य दिन सक्ने क्षमतामा हुन्छ । जब नेतृत्वले कर्मचारीहरूको आवाजलाई प्राथमिकता दिन्छ, तब संगठनभित्र आपसी विश्वास र सहयोगको संस्कृति विकास हुन्छ । यसले समस्याको समाधानका लागि नवीन विचारहरू जन्माउन सहयोग पु-याउँछ र संस्थागत निर्णयहरू कर्मचारीहरूको वास्तविक आवश्यकतामा आधारित हुन पुग्छ । तर यसको लागि नेतामा सहानुभूति, धैर्य, र संवेदनशीलताको गुण हुनु आवश्यक छ ।

नेपालका धेरैजसो संस्थागत नेताहरूले आफ्नो श्रेयलाई प्राथमिकता दिने र अधीनस्थहरूको योगदानलाई बेवास्ता गर्ने प्रवृत्ति देखाएका छन् । यसले कर्मचारीहरूलाई निराश मात्र बनाउँछ र उनीहरूको प्रेरणालाई नष्ट गर्छ । तर असल नेतृत्व भनेको आफ्नो टिमको सफलता र उपलब्धिलाई आफ्नै सफलताभन्दा अगाडि राख्ने दृष्टिकोण हो । यस्तो दृष्टिकोणले टोलीभित्र आत्मसम्मान र प्रेरणाको भावना सिर्जना गर्छ । नेतृत्वले आफ्नो योगदानलाई भन्दा टोलीको उपलब्धिलाई महत्व दिन सक्दा मात्र सामूहिक प्रगति सम्भव हुन्छ । यसका साथै, असल नेतृत्वले समय र उर्जाको सही उपयोगमा ध्यान दिन्छ । नेपालको धेरैजसो संस्थामा अनावश्यक बैठक र प्रक्रियाले कर्मचारीको ऊर्जा र समय खर्च भएको छ । यसले उनीहरूको कार्यक्षमता घटाएको छ । असल नेतृत्व भनेको आवश्यकताहीन काम हटाएर कार्यक्षेत्रलाई सरल र उत्पादक बनाउने हो । यसरी समय र स्रोतको उचित व्यवस्थापन नेतृत्वको गुणस्तरको एक ठुलो सूचक हो ।
नेतृत्वको परीक्षण कठिन समय र संकटका क्षणमा हुन्छ । सजिलो समयमा मात्र उपस्थित भएर र पदको शक्ति देखाएर नेतृत्वलाई प्रमाणित गर्न सकिँदैन । वास्तविक नेतृत्व भनेको चुनौतीपूर्ण क्षणमा पनि आफ्नो टोलीलाई साथ दिने, उनीहरूको मनोबल बढाउने, र समस्याको समाधानमा अग्रसर हुने हो । नेपालका धेरै संस्थामा नेताहरू सजिलो अवस्थामा मात्र सक्रिय हुने र चुनौती आएपछि पन्छिने प्रवृत्ति देखिन्छ । यसले कर्मचारीहरूमा नेतृत्वप्रतिको विश्वास घटाउँछ । तर असल नेतृत्वले संकटलाई अवसरका रूपमा लिन्छ र आफ्नो टोलीलाई मनोवैज्ञानिक सुरक्षा प्रदान गर्छ । यसरी संकट व्यवस्थापनको क्षमताले नेतृत्वलाई बलियो र प्रेरणादायी बनाउँछ ।
नेतृत्वको अर्को महत्त्वपूर्ण आयाम भनेको उच्च अपेक्षा र उच्च समर्थनको सन्तुलन कायम गर्नु हो। कर्मचारीलाई जिम्मेवारी दिनु नेतृत्वको भूमिका हो, तर त्यसैको लागि आवश्यक स्रोत, तालिम, र समर्थन उपलब्ध गराउनु पनि समान रूपमा महत्वपूर्ण छ । नेपालका धेरैजसो संस्थामा नेताहरूले कर्मचारीलाई जिम्मेवारी त दिन्छन् तर उनीहरूको सफलताको लागि आवश्यक साधन र वातावरण उपलब्ध गराउँदैनन् । यसले कर्मचारीलाई निराश बनाउँछ र उनीहरूको दक्षता कम गर्छ । असल नेतृत्वले भने आफ्नो कर्मचारीलाई चुनौती दिन्छ, तर उनीहरूको हात पनि समातेको हुन्छ । यसले कर्मचारीको आत्मविश्वास बढाउँछ र उनीहरूलाई नयाँ सोच र नवप्रवर्तन गर्न प्रेरित गर्छ ।
कर्मचारीलाई केवल संसाधनको रूपमा हेर्ने दृष्टिकोणले संस्थागत वातावरणलाई नकारात्मक बनाउँछ । नेपालका धेरै संस्थामा कर्मचारीलाई केवल ‘ह्यूमन रिसोर्स’ भनेर मात्र हेर्ने प्रवृत्ति छ, जसले उनीहरूको व्यक्तिगत अनुभव, संघर्ष, र योगदानलाई बेवास्ता गर्छ । तर असल नेतृत्व भनेको कर्मचारीलाई व्यक्तित्वको रूपमा हेर्ने हो । जब नेतृत्वले कर्मचारीको व्यक्तिगत कथा बुझ्छ, उनीहरूको मनोवैज्ञानिक आवश्यकतालाई मूल्य दिन्छ, र उनीहरूको व्यक्तिगत र पेशागत विकासमा ध्यान दिन्छ, तब मात्र कार्यस्थल प्रेरणादायी र सुरक्षित बन्छ । यसरी कर्मचारीको आत्मसम्मान र आत्मविश्वास बढाउँदा उनीहरूको कार्यक्षमता र सर्जनशीलता पनि बढ्छ ।
त्यसैले नेतृत्वको वास्तविक मूल्य भनेको निर्भरता सिर्जना गर्नु होइन, नयाँ नेतृत्व उत्पादन गर्नु हो । नेपालका धेरैजसो संस्थामा नेताहरूले आफ्नो पद सुरक्षित राख्न अरूलाई निर्भर बनाउने अभ्यास गरेका छन् । यसले संस्थागत विकासलाई दीर्घकालीन रूपमा अवरुद्ध बनाउँछ । तर असल नेतृत्व भनेको आफ्ना अधीनस्थहरूलाई आत्मनिर्भर बनाउने, स्वतन्त्र निर्णय लिन प्रोत्साहित गर्ने, र उनीहरूलाई नेतृत्व लिन तयार पार्ने हो । यसरी नेतृत्वले नवप्रवर्तन, आत्मविश्वास, र संस्थागत स्थायित्वको संस्कार विकास गर्छ ।
नेपालको वर्तमान नेतृत्व संकटलाई समाधान गर्न यी मूल्यहरू र अभ्यासलाई नेतृत्व विकासको मूलभूत आधार बनाउनु अपरिहार्य छ । नेतृत्व चयनका मापदण्डलाई राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धको साटो योग्यता, दृष्टि, चरित्र, र नैतिकतामा आधारित बनाउनुपर्छ । संस्थामा सम्मान, पारदर्शिता, सहभागिता, र प्रोत्साहनको संस्कृति विकास गर्नुपर्छ । कर्मचारीलाई निरन्तर तालिम र अवसर प्रदान गरेर उनीहरूको प्रेरणालाई उच्च राख्नुपर्छ । नेतृत्वले आफू मात्र नभई आफ्नो सम्पूर्ण टोलीलाई सफल बनाउन ध्यान दिए मात्र संस्थाभित्र सकारात्मक ऊर्जा र उत्पादकता वृद्धि हुनेछ ।
नेपालको विकास र समृद्धि नेतृत्वको गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडिएको छ । जबसम्म हामी नेतृत्वलाई पद र पहुँचको खेलको रूपमा मात्र हेर्नेछौं, तबसम्म दक्ष जनशक्ति पनि आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्न असफल हुनेछ । त्यसैले प्रत्येक संस्थाले आफ्नो नेतृत्वलाई नैतिकता, सहानुभूति, पारदर्शिता, र प्रेरणादायी दृष्टिकोणले सुसज्जित बनाउनुपर्ने आवश्यकता छ । यसरी असल नेतृत्वको अभ्यासलाई व्यवहारमा उतार्दा मात्र नेपालका संस्थाहरू सहज, सुरक्षित, र प्रेरणादायी कार्यस्थल बन्न सक्छन् । कर्मचारीले सम्मानित र सुनेको महसुस गर्ने वातावरण सिर्जना गर्न सके मात्र उनीहरू आफ्नो क्षमताको अधिकतम उपयोग गर्न उत्साहित हुन्छन् । नेतृत्वमा भएको सुधारले संस्थाको मात्र होइन, राष्ट्रको प्रगतिमा समेत दीर्घकालीन र सकारात्मक परिवर्तन ल्याउनेछ । नेतृत्वको यो नैतिक, मानवकेन्द्रित, र दृष्टिपूर्ण रूप नै नेपाललाई समृद्ध, प्रतिस्पर्धी, र आत्मनिर्भर राष्ट्र बनाउनको मूल आधार बन्न सक्छ ।
(लेखक सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।)

















