पदम भट्ट काजी – नेपाली जन सम्पर्क समितिको जन्म महाराष्ट्रको बम्बईमा भयो । किन कसरी भयो भन्ने सम्बन्धमा प्रभु प्रकृतिको विधि विधान, नीति–नियम, सिद्धान्त, भूमिका–दिश्चाएर जुन पनि क्षेत्र मैदानमा उतार्दो रहेछ भन्ने कुरा घटनाक्रमले हामीलाई शिक्षा दिने गर्दछ । कृषि पेसा गर्ने कृषक एकातर्फ बस्छ, उसको खेत चाहिँ अर्को तर्फ छ, परन्तु ऊ आफ्नो घर–खेतबाट धेरै टाढा अर्को गाऊँ, जिल्लाको खेत किसानलाई हेरेर पनि आफ्नो हालचाल, मति गति फेर्न स्वतः प्रेरित, बाध्य हुँदो रहेछ । हाम्रो देश नेपालका अधिकांश किसान–मजदुर भारतको बम्बईमा डंडाको सहारामा रोजी–रोटी सेक्ने गर्दथे । नेपालको जन–बन बाझो थियो । जल थलको सदुपयोग नहुन सकेको चिन्ता, देशको भविष्य उज्यालो तिर भन्दा झन् अन्धकारमा डुब्ने देख्दा छटपटीले आजीवन राष्ट्रपति समर्पित महामनाको चाल हेरौँ, सम्झौँ ।
आदरणीय पाठक वृन्द ! उदाहरणको लागि लिनुहोस्, जस्तै: लंकामा मेघनाथको शक्ति बाण लागेर लक्ष्मण घाइते भएका थिए र घाइते लक्ष्मणलाई बचाउन पवन पुत्र हनुमान जी द्रोणाचल पर्वतमा गएर सञ्जीवनी बुट्टी ल्याएर घाइते लक्ष्मणलाई बचाई, लंका राख पारी रावण मारी, माता सीता जीलाई अयोध्यामा सुरक्षित फिर्ता ल्याएको रामायण साक्षी छ । त्यस्तै यो देश नेपालमा पनि २०१७ सालमा राजा महेन्द्रको शक्ति बाण लागेर नेपालको कलिलो प्रजातन्त्र घाइते भएको थियो । त्यही घाइते प्रजातन्त्रलाई जोगाउन, देश बचाउन संजिवनीको खोजीमा सन् १९७६ मा विश्वेश्वर प्रसाद कोइराला भारतको बबईमा एउटा प्राथमिक पाठशाला खोल्नु भयो, जसको नामोच्चारण भयो “नेपार्टी, जनसम्पर्क समिति” ।

त्यो समितिको शिलान्यासको दिनमा सबै नेपाली दाजु–भाइहरूले आ–आफ्नो परिचय दिए । मेरो जिल्ला, मेरो नाम, मेरो काम ओहदा चौकीदारी (सेक्युरिटी) भन्नेमा प्रायः धेरै जसो हात उठे । बहुसङ्ख्यक चौकीदारीको परिचय पाउँदा निराशाको सट्टा महामानव वि.पी. ज्यू हर्षित हुँदै, हर्ष मनाउँदै मनोबल र शक्ति सञ्चार गर्दै भन्नु भएको थियो– मेहनती र इमानदारको नाम चौकीदार हो, अनि उपनाम बहादुर हो । आज विश्व–संसारले नेपालीहरूलाई बहादुरको नामले सम्बोधन गर्ने गर्दछ र चिन्दछन् । अब तपाईँहरू नेपाली दाजुभाइले यो इमानदारी, यो बहादुरीको सदुपयोग, प्रयोग आफ्नै स्वदेश नेपालको प्रजातन्त्र पुनर्बहालीमा लगाएर रैतीबाट मुक्त भएर राष्ट्रका अधिकृत नागरिक बन्नुहोस् । रैतीबाट राष्ट्र बन्दैन, नागरिकबाट राष्ट्र बन्दछ ।
नेपालमा प्रजातन्त्र पुनर्बहाली भए पछि तपाई चौकीदार दाजु–भाइहरूले नेपालमा राष्ट्र–सेवा, जन सेवाका लागि सांसद मन्त्री बन्नु हुनेछ । राजनीतिमा प्रतिनिधि बन्न धेरै पढे–बेखेका मानिसको उत्ति खाँचो पर्दैन जति ईमान्दारीको खाँचो पर्दछ । देशमा सबल प्रजातन्त्र नभएर देशको विकास हुँदैन । ईमान्दारी नभएर प्रजातन्त्र बाँच्दैन । जुनसुकै पेसा–व्यवसाय गरे पनि मिहिनेत र इमान चाहिन्छ । जुन शाक–तरकारी पकाए पनि नुन चाहिन्छ । यस्ता घतलाग्दा, मीठा प्रेरणादायी वाणी–बचनले बुझाएर नेपाली जनसम्पर्क समितिलाई मुम्बईमा काम गर्ने चौकीदार दाजु–भाइहरूको काँधमा सुम्पेर आफू स्वयं वि.पी. ज्यू राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भयो । त्यो समय थियो डिसेम्बर अ. सन् १९७८ नेपाल भित्रिने स्थान थियो बिहारको पटना ।
त्यतिखेर बिहारका मुख्यमन्त्री श्री करपुरे ठाकुर जी हुनुहुन्थ्यो । उहाँ वि.पी. ज्यूका अनुयायी पनि हुनु हुन्थ्यो, तसर्थ उहाँले वि.पी. ज्यूको स्वदेश बिदाइमा पटनामा स्वागत समारोह राख्नु भएको थियो । वि.पी. को स्वदेश बिदाइमा भारतका अधिकांश स्थानबाट नेपाली जनसम्पर्क समितिका कार्यकर्ताहरू पटनामा आउनु भएको थियो । मुम्बईबाट पनि ५ जना आएका थिए । मुख्यमन्त्री ठाकुर जी ले आफ्नो प्रवचनमा सम्मानसाथ वि.पी. ज्यूलाई भन्नु भयो– वि.पी. ज्यू ! तपाई यस बेला नेपालमा नजानुहोस् । तपाइको नाममा सात वटा मुद्दा चलाएका छन् । एउटा मुद्दा हारे पनि तपाईँको फाँसी हुन सक्छ । तपाई विहारमा बस्नुहोस्, तपाईँको रेखदेख म गर्दछु भन्नु भएको थियो । तर महामानव वि.पी.ज्यूले मुख्यमन्त्री जीलाई धन्यवाद दिँदै भन्नु भयो– मुख्यमन्त्रीज्यूले भन्नुभएको कुरा सत्य हो, यथार्थ छ, परन्तु फाँसी भए पनि वि.पी. कोइरालाको हुँदैन, फाँसी होला यो नश्वर शरीरको । यो नाश वान शरीर त आज न भोली एक दिन अवश्य पनि नासिनेछ । नश्वर शरीरको मलाई माया छैन । माया छ नेपाल, नेपाली र प्रजातन्त्रको ।
वीर वि.पी. को स्वदेश फर्काइमा संसारको चासो र आँखा नेपालतर्फ थियो कि अब के हुन्छ, वि.पी. कोइराला ज्यूलाई भनेर । उहाँ नेपाल फर्कने बित्तिकै श्री ५महाराजाधिराज वीरेन्द्र सरकारले वि.पी.ज्यूको मेलमिलापको आधारमा जनमत सङ्ग्रह घोषणा गरी बक्स्यो । त्यो दिन नेपालमा भगवान् श्री रामले लंका विजय गरे जस्तै सम्पूर्ण नेपालको घर–घरमा खुसीको हर्ष दीपावली मनाइयो । देश–विदेशमा बस्ने नेपालीहरू सबैले आ–आफ्नो स्थानबाट मनाए ।

वास्तवमा महापुरुषहरूले बोलेका वाणी वचन कालान्तरमा सत्य साबित हुँदा रहेछन् भन्ने प्रमाण स्वरूप महाराष्ट्रको मुम्बइमा हामीसँगै मजदुरी–चौकीदारी गर्ने साथी–संगाती आदरणीय त्रिलोचन भट्ट जी सुदूर पश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री बन्न सफल हुनुभयो ।
लंगोटी धर्सो टोपीको घेरो, हल गोरु जोतेको ।
आयो है वि.पी. त्यो प्रजातन्त्र तपाइले सोचेको ।।
हिजोका बुढा अपाङ्गहरू, अल्पायु खोज्दथे ।
आजका बुढा दीर्घायु भा छन् यसो को सोच्दथे ।।
शहीदको सपना बोकी, सङ्घर्ष गर्नु भो ।
जस–छिप्या मनमोहन अर्पी यात्रा मै मर्नु भो ।।
दुइटै जना एकर्काका, मूल्याङ्कन गर्नु भो
त्यसैले त जेष्टजनलाई तार्नु भो, तर्नु भो ।।
मानव अधिकार खोज्न, राजनीतिमा सुरु ।
ने.ज.स. क्याम्पस हो मेरो महामानव गुरु ।।
(लेखक ने.ज.स. मुम्बई, भारतका मानार्थ सदस्य हुन । उनी हाल बसाई गोदावरी नगरपालिका– ३ मालाखेती, कैलालीमा बस्छन् ।)
















