कैलाली कारागारमा शुक्रबार मध्यरात भएको घटनाले नेपालको कारागार सुरक्षा प्रणालीको कमजोर पक्षलाई पुनः उजागर गरेको छ । दुई गुन्डा समूहबीचको हिंसात्मक झडपमा एक कैदीको मृत्यु र ४९ जना घाइते हुनु सामान्य प्रशासनिक त्रुटि मात्र नभई गम्भीर सुरक्षा विफलता हो । घटना हुने पूर्वसंकेत पाउँदा पाउदै पनि प्रहरीकै लापरबाहीका कारण घटनाले उग्र रुप लिएको र ठुलो घटना घटेको देखिन्छ । बिहीबारकै दिन कैदीहरूबीचको झडपमा पाँच जना घाइते भएका थिए, मृतकका आफन्तले सम्भावित अर्को घटनाको चेतावनी दिएका थिए, तर कारागार प्रशासन, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले समयमै सतर्कता नअपनाउदा घटनाले ठुलो मोड लिएको छ । घटना घट्ने पुर्व संकेतलाई उपेक्षा गरिदा कारागारभित्रको तनाव हिंसामा परिणत भएको छ ।
कैलालीको ‘नन्दु सरकार’ भनिने नवीन रावल र जयन्द्र शाह नेतृत्वका दुई समूहबीचको दीर्घकालीन वैमनस्यता यस घटनाको मूल कारण देखिन्छ । अघिल्ला महिनामा मोबाइल फेला पर्नु, कैदी सरुवा, र हिंसात्मक घटना दोहोरिनु जस्ता सूचकहरू हुँदाहुँदै पनि दीर्घकालीन समाधानका लागि प्रभावकारी कदम नचाल्नु प्रहरी प्रशासनको स्विकार गर्न नसकिने कमजोरी हो । असारमा सिडिओ निरीक्षणका क्रममा ब्लक ‘ए’ मा मोबाइल बरामद भएपछि सात कैदीलाई ब्लक ‘बी’ मा सारिएको थियो । त्यहीँबाट सुरु भएको मनमुटाव असार २८ गते पुनः हिंसामा बदलियो, जसमा कारागारका नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका थिए । तर यी दोहोरिएका घटनाबाट पाठ सिकेर सुरक्षा कडाइ गर्ने पहल प्रहरी प्रशासनले गरेको देखिएन ।



कारागार भित्र योजनाबद्ध रुपमा भित्तामै प्वाल पारेर ‘ए’ ब्लकका कैदीहरूले ‘बी’ ब्लकमा सुतिरहेका कैदीमाथि खुकुरी, चक्कु, रड, र जिमका सामग्री प्रयोग गर्दै हमला गर्नु, घटनापछि सुरक्षाकर्मी नै तुरुन्त प्रवेश गर्न नसक्नु, कैदीहरूले भित्रबाट ताला लगाउनु, र आन्तरिक नियन्त्रण प्रणाली असफल हुनु जस्ता सबै क्रियाकलापले कारागार व्यवस्थापनको भयानक कमजोरी उजागर गरेको छ ।
मानव अधिकार आयोगले यसलाई ‘गम्भीर लापरबाही’ को संज्ञा दिँदै, कारागार प्रमुख विदामा रहनु, समन्वयको अभाव, क्षमता भन्दा बढी कैदी र सरुवामा पारदर्शिताको कमीलाई मुख्य कारण मानेको छ । यता जिल्ला प्रशासन कार्यालयले प्रभावकारी सुरक्षा व्यवस्था मिलाएको, छानबिन समिति गठन गरेको र गृहमन्त्री स्तरमा छलफल भएको दाबी गरेको छ । यस्ता कदम स्वागतयोग्य भए पनि, यी प्रतिक्रियात्मक मात्र हुन् । पूर्वसावधानी नअपनाउने प्रवृत्ति यथावत् रह्यो भने यस्ता रक्तरंजित रातहरू फेरि दोहोरिन सक्छन् ।
कैलाली कारागारको यो घटना स्थानीय मात्र होइन, राष्ट्रिय सुरक्षा चुनौती हो । कैदी व्यवस्थापनको सुधार, गुटीय नियन्त्रणको अन्त्य, आन्तरिक सुरक्षा कडाइ र जिम्मेवारीको स्पष्टता बिना कारागारभित्र शान्ति र सुरक्षा सुनिश्चित गर्न सकिँदैन । अब सरकारले तुरुन्त र ठोस कदम चाल्नुपर्छ ।

















