नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ। काठमाडौंको बानेश्वरमा बिहीबार बसेको राष्ट्रिय भेलाले प्रतिनिधि सभा सदस्यसमेत रहेका संरक्षक रेशम चौधरीका बाबु लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।
उनले अध्यक्षको जिम्मेवारी पाइसकेपछि विधि र पद्धतीका आधारमा नाउपालाई अघि बढाउने बताएका छन । उनले अध्यक्ष रञ्जिता श्रेष्ठले डेढ वर्षसम्म बैठक नराखेको बताए। श्रेष्ठलाई अझै पनि सहमति र सहकार्यका लागि आउन उनको आग्रह छ।


गत निर्वाचनमा लालवीर बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। निर्वाचित भएको केही समयमै उनी नाउपामा प्रवेश गरेका थिए।
यसअघि नाउपा अध्यक्ष संरक्षकसमेत रहेका रेशमको पत्नीसमेत रहेकी प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ थिइन्।
पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल अडिओ प्रकरणमा अध्यक्ष श्रेष्ठ मुछिएकी थिइन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएर स्पष्टीकरणसमेत सोधेको थियो।
विवादमा परेपछि अध्यक्ष रञ्जिताले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष दिएकी थिइन्। श्रेष्ठले आफूलाई अवैध राष्ट्रिय भेलाले अध्यक्षबाट हटाउन नसक्ने दाबी गर्दै आएकी छन्।


















