काठमाडौँ – नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहानामा ‘ब्रेक’ लगाएको छ । एमालेले उनको पार्टी सदस्यता कायम नराख्ने निर्णय पनि गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ ।

मंगलाबार मध्य राति सकिएको एमालेको नवौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्दै प्रस्ताव प्रस्तुत गरेका थिए, जुन बहुमतले पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। यद्यपि, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले भने उक्त प्रस्तावप्रति असहमति जनाएका थिए।

गौतमका अनुसार, ‘पूर्व राष्ट्रपति राष्ट्राध्यक्ष, संविधानको संरक्षक र राष्ट्रिय एकताको प्रतीक भएकाले उनी कुनै दलको झन्डा बोकेर हिँड्नु संविधानको मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको हो।’
यसैबिच, केन्द्रीय कमिटीको बैठकले अर्को महत्त्वपूर्ण निर्णय गर्दै भदौमा हुने विधान अधिवेशनमार्फत वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला गरेको छ। यसका लागि पार्टीले ७० वर्षको उमेर सीमा र दुई कार्यकालको प्रतिबन्ध हटाउने निर्णय लिएको हो, जसले विधान संशोधनको बाटो खोलेको छ।














