डोटी– डोटीमा स्वास्थ्य बिमाको पहुँचमा पुग्नेको संख्या न्यून देखिएको छ । जिल्लामा कुल जनसंख्याको ११.६८ प्रतिशत जनसंख्या मात्रै स्वास्थ्य बिमाको पहुँचमा पुगेको छ ।
जिल्लाको कुल जनसंख्या २ लाख ४ हजार ८३१ रहेकामा स्वास्थ्य बिमाको पहुँचमा पुग्नेको संख्या २३ हजार ९१५ रहेको जिल्ला स्वास्थ्य कार्यालय का प्रमुख रमेश मलासीले बताए ।


जिल्लामा स्वास्थ्य बिमा गर्ने घरपरिवारको संख्या ९ हजार २ सय ५५ रहेको उनले बताए । जिल्लामा २०८०/०८१ मा २ हजार ३८१ जनाले नयाँ स्वास्थ्य बिमा गरेकामा २०८१/८२ मा १ हजार ५०३ जनाले मात्र बिमा गरेको उनले बताए ।
जिल्लामा सबैभन्दा बढी स्वास्थ्य बिमा गर्ने दिपायल सिलगढी नगरपालिकामा र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा छन् । दिपायल सिलगढीमा २ हजार ७८१ घरपरिवारका ८ हजार ७०१ जना स्वास्थ्य बिमाको पहुँचमा छन् भने बोगटानका ५९ घरपरिवारका २३८ जनाले मात्रै स्वास्थ्य बिमा गरेको मलासीले बताए ।
नागरिकको स्वास्थ्यमा सहज पहुँच पु-याउने उद्देश्यले सामाजिक सुरक्षाअन्तर्गत २०७२ सालदेखि लगातार नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको छ । डोटीमा स्वास्थ्य बिमा २०७६ सालदेखि लागू भएकोमा २०७७ सालदेखि कार्यान्वयनमा आएको हो ।


















