अत्तरिया– सामान्यतया महोत्सव भन्नासाथ मनोरञ्जन, गीतसंगीत, सांस्कृतिक प्रस्तुति, व्यापारिक प्रदर्शनी र किनमेलको अवसर भन्ने बुझिन्छ । कला, संस्कृति, पर्यटन तथा व्यापार प्रवद्र्धनसँग जोडिँदै आएका महोत्सवहरू पछिल्लो समय आर्थिक र सामाजिक गतिविधि बढाउने माध्यमसमेत बन्दै आएका छन् ।
तर कैलालीको अत्तरियामा सुरु भएको स्वास्थ्य युवा महोत्सवले महोत्सवप्रतिको यही परम्परागत बुझाइलाई बदल्ने प्रयास गरेको छ । समृद्ध सुदूरपश्चिम अभियान, नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा बुधबारदेखि सुरु भएको महोत्सवले मनोरञ्जन र व्यापारभन्दा स्वास्थ्य सचेतना, रोगको पहिचान, उपचारसम्बन्धी परामर्श र नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएको छ । अन्य महोत्सवमा कलाकार र व्यापारिक स्टल आकर्षणको केन्द्र बन्ने गरे पनि यहाँ स्वास्थ्यकर्मी, विशेषज्ञ चिकित्सक र स्वास्थ्य परीक्षणका स्टलले स्थान पाएका छन् ।

नेपाल चेम्बर अफ कमर्स कैलालीका वरिष्ठ उपाध्यक्ष वंशीराम चौधरी (स्माइल) का अनुसार महोत्सवको उद्देश्य नागरिकलाई मनोरञ्जन प्रदान गर्नु मात्रै नभई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बनाउनु पनि हो । बिरामी भएपछि मात्रै अस्पताल पुग्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै समयमै स्वास्थ्य परीक्षण गर्ने, रोग लाग्नुअघि नै सचेत रहने र स्वास्थ्य समस्याबारे विशेषज्ञसँग परामर्श लिने वातावरण निर्माण गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको उनले बताए ।
महोत्सवमा विभिन्न स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकसँग परामर्श, स्वास्थ्य शिक्षा तथा युवालाई लक्षित मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन भइरहेका छन् । यसले आर्थिक अवस्था कमजोर भएका तथा नियमित स्वास्थ्य परीक्षणको पहुँचबाट टाढा रहेका नागरिकलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।
रक्तदान गरेर उद्घाटन

महोत्सवको बुधबार रक्तदानको कार्यक्रम आयोजना गरेर उद्घाटन गरिएको थियो । रक्तदानका लागि चेम्बर अफ कमर्श कैलालीका अध्यक्ष प्रमोद अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य युवा महोत्सवको उद्घाटन गरेका हुन् । यसअघि मुख्यमन्त्री भट्टद्धारा रक्तदान गरेर महोत्सवको उद्घाटन गरिने बताईएपनि मुख्यमन्त्री भट्टको स्वास्थ्य समस्याका कारण उनले रक्तदान गरेनन् ।
उद्घाटन समारोहमा बोल्दै उनले स्वास्थ्य युवा महोत्सवलाई नयाँ, महत्वपूर्ण र प्रेरणादायी प्रयासका रूपमा व्याख्या गरे । महोत्सवबाट प्राप्त हुने निष्कर्ष तथा सुझाव प्रदेश सरकारलाई उपलब्ध गराउन आग्रह गर्दै उनले ती सुझाव कार्यान्वयनका लागि सरकारले सम्भव भएसम्म पहल गर्ने प्रतिबद्धता जनाए । खानपिन, जलवायु परिवर्तन र बदलिँदो जीवनशैलीका कारण स्वास्थ्य समस्या बढ्दै गइरहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले वर्तमान अवस्थामा यस्ता महोत्सवको आवश्यकता अझ बढेको बताए ।
प्रतिनिधिसभा सदस्य रमेश प्रसाईंले स्वास्थ्य युवा महोत्सवलाई विल्कुलै नयाँ अभ्यासका रूपमा लिएको बताए । आफू विभिन्न गीतसंगीतका महोत्सवमा सहभागी भए पनि स्वास्थ्यलाई केन्द्रमा राखेर आयोजना गरिएको यस्तो महोत्सवको अवधारणा नयाँ र अनुकरणीय लागेको उनको भनाइ थियो । ‘गीतसंगीतका महोत्सवमा म आफैँ पनि धेरै पुगेको छु, गीत घन्काएको पनि छु,’ उनले भने, ‘तर गीतसंगीतका महोत्सव सञ्चालन हुने यो समयमा जुझारु युवाहरूले चेम्बर अफ कमर्सको अगुवाइमा आयोजना गरेको स्वास्थ्य युवा महोत्सव साँच्चिकै नयाँ अभ्यास हो । यो सबैले सिक्नुपर्ने अभ्यास हो ।’ स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरू केही नभएको उल्लेख गर्दै प्रसाईंले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन अपनाउनुपर्ने सावधानी महत्वपूर्ण हुने बताए ।
मानिसले आफ्नो स्वास्थ्यलाई आवश्यक प्राथमिकता दिन नसकेको भन्दै उनले स्वस्थ जीवनशैली र नियमित स्वास्थ्य परीक्षणमा जोड दिए । महोत्सवमा सञ्चालन भइरहेको मनोसामाजिक परामर्शको महत्वबारे चर्चा गर्दै उनले बढ्दो आत्महत्या, मानसिक तनाव र सामाजिक नकारात्मकताप्रति चिन्ता व्यक्त गरे । युवापुस्तामा बढ्दै गएको मानसिक तनावलाई समयमै सम्बोधन गर्न सके आत्महत्याका घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको विश्वास थियो ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमा देवी बिष्टले महोत्सवमा कलाकारको स्थानमा स्वास्थ्यकर्मीलाई देख्न पाउनु सुखद र फरक अनुभव भएको बताइन् । मनोरञ्जनका लागि कलाकार उपस्थित हुने मञ्चमा स्वास्थ्यकर्मीलाई प्राथमिकता दिएको भन्दै उनले आयोजकलाई धन्यवाद दिइन् । आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि स्वास्थ्य परीक्षण र परामर्शको अवसर महत्वपूर्ण हुने उनको भनाइ थियो । स्वास्थ्य युवा महोत्सवमा अन्य महोत्सवमा जस्तै विभिन्न स्टल राखिएका छन् ।
तर ती स्टल व्यापारिक वस्तुको प्रदर्शनी र बिक्रीका लागि नभई नागरिकको स्वास्थ्य परीक्षण, परामर्श र सचेतनाका लागि प्रयोग गरिएका छन् । जसले महोत्सवको स्वरूप र उद्देश्य दुवैलाई फरक बनाएको छ । ‘डाक्टरसँग कुरा गरौँ, स्वास्थ्यबारे बुझौँ; समयमै जाँच गरौँ, रोगबाट बचौँ’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवले स्वास्थ्य, स्वस्थ युवा, उत्पादनशील जनशक्ति, व्यवसाय वृद्धि, रोजगारी र आर्थिक समृद्धिबीचको सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ ।
स्वस्थ नागरिकबिना समृद्ध समाज र उत्पादनशील जनशक्तिको परिकल्पना गर्न नसकिने सन्देशसहित सुरु भएको यो महोत्सवले नागरिकको स्वास्थ्य, सचेतना र सामाजिक रूपान्तरणसँग जोड्ने नयाँ सम्भावनासमेत देखाएको छ । मनोरञ्जनात्मक र व्यापारीक प्रयोजनको रुपमा मात्रै बुझिदै आएको महोत्सवको अर्थलाई आयोजकले बदल्ने प्रयास गरेको देखिन्छ ।



















