कोटि कोटि प्रणाम तिमीलाई श्रद्धाले शिर झुक्दछ
पावन भूमि बस्कोटको तिमीलाई, सम्झेर दिल फुल्दछ
बलिदानी पुत्र दशरथ जहाँ, जन्मिन्छन् न्यायिक बनी
शिरको शोभा दिने छ जसले, पवित्र तिलक बनी ।
सत्यैको नाश भएर जब यहाँ, असत्यको राज भए
आमा रून्छिन यै भूमिमा, बलिदानी फेरि नभए
मुखमा ताल्चा र हातमा हत्कडी, निमुखा पाउँछन् जब
काट्नै जन्मिन्छन् यै भूमिमा, दशरथ चन्द तब ।

निर्मल, शीतल, सौम्य पवन जब छेकिन्छ पर्दा गरी
च्यात्छन् सर्व सुलभ गराउन उनी, कात्रै बनोस् केही गरी
नाङ्गै पाउ सुकोमल शिशु, जुन बाटो हिँडछन् सधैं
ढुङ्गा काँढा पन्साउन उनी सपनिमा भन्छन् सधैं ।

पसिना काढी रगत सुकाई आफ्नो, भोकाभोकै सुत्दछिन्
श्रमै शोषित उक्त नारीले दशरथ फेरि खोज्दछिन्
नाम्लो–डोको बने छ जुन छोरीका आधार बालकालमा
सपना साँचो कसोरी हुन्छ ल भनौँ शोषणको जञ्जालमा ?
परतन्त्री नबनोस् अंश तिम्रो, आमा तिमी रोज्दी छौ
त्यसको रक्षण निम्ति तिमीले सन्तान जन्माउँदी छौ
स्वार्थी दुष्ट–दुराचारी हुन गए, पछुतो आफै गर्दी छौ
प्रत्येक माघ सोह्रको दिन तिमी शुद्धीकरण गर्दी छौ ।
आमा, जन्म दिनु थोरै किन् नहोस्, दशरथसमानको तिमी
मानव मातृभूमि रहोस्, शिर उपर श्रद्धाको नहोस् कमी ।
यो कविता संविधान सभा सदस्य पुरन सिंह दयालको कारागारको ढोकाबाट चियाउँदा काव्यकृति बाट साभार गरिएको हो ।


















