खाेज्नुहाेस

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका ५ शिक्षण अस्पताल

Image

अत्तरिया – कैलालीको गेटामा सञ्चालनको तयारीमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका ५ वटा शिक्षण अस्पताल हुने भएकाछन । चालु शैक्षिक सत्रबाट चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको विश्वविद्यालयको आफ्नै अस्पतालले मात्रै मापदण्ड पुरा नहुने भएकाले थप ४ अस्पताललाई शिक्षण अस्पताल बनाएर सञ्चालनको तयारी गर्न थालिएको हो ।

जसका लागि प्रदेश सरकार मातहत रहेका सेती प्रादेशिक अस्पताल धनगढी, लम्की चुहा प्रादेशिक अस्पताल लम्की, टीकापुर प्रादेशिक अस्पताल टीकापुर र महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरलाइ शिक्षण अस्पताल बनाउने तयारी थालिएको छ । यी अस्पताललाई शिक्षण अस्पताल बनाउनको लागि प्रदेश सरकारले पनि स्वीकृति दिइसकेको छ । बिहीबार मात्रै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश मातहतका चार वटै अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो । यद्यपि प्रदेशले स्वीकृति दिएका अस्पताल सँग विश्वविद्यालयले सम्झौता गर्न बाँकी छ ।

attariya hospital

हाल विश्वविद्यालय परिसर भित्रै रहेको अस्पताल ५० शय्यामा मात्रै सञ्चालनमा रहेकाले तत्काल एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न मापदण्ड नपुग्ने भएकाले यस क्षेत्रमा सञ्चालित पुराना अस्पताललाई आधार बनाउन लागिएको छ । चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि ३ सय शय्याको अस्पताल तीन वर्ष सञ्चालन भएको हुनुपर्छ । उक्त मापदण्ड अनुसार अस्पताल तत्काल ३ सय बेडको सञ्चालन गरे पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्न अझै ३ वर्ष कुर्नुपर्ने भएकाले एक वर्ष अघि नै निर्माण भएको विश्वविद्यालय ऐनमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह अन्तरगत सञ्चालित अस्पताल सँग सम्झौता गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने प्रावधान राखिएको थियो । सोही विशेष प्रावधानमा टेकेर चालु शैक्षिक सत्रबाट गेटामा एमबिबिएस, बीएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र बीएस्सी अप्टोमेटरी कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगसमक्ष आवेदन दिइसकिएको छ ।

विश्वविद्यालयमा यसै शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्न विश्वविद्यालयमा जनशक्ति नियुक्ति गर्ने, शिक्षण अस्पतालहरूको निरीक्षण गर्ने काम चलिरहेको छ । विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले प्राध्यापक, सहप्राध्यापक र सहायक प्राध्यापक गरी कूल ७७ जना छनोटको प्रक्रिया चलिरहेको बताए । विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाका कार्यक्रम सुरु गर्ने उद्देश्यले चार जना प्राध्यापक र १३ जना सहप्राध्यापक गरी १७ जना छनोटको अन्तिम नतिजा गत आइतबार प्रकाशित गरेको थियो ।

navjiwan hospital

विश्वविद्यालयमा तत्काल शैक्षिक कार्यक्रम सञ्चालनका लागि प्रदेश मातहतका अस्पताललाई शिक्षण संस्थाको रूपमा प्रयोग गर्ने तयारी गरिए पनि विश्वविद्यालयको आफ्नै अस्पताललाई पनि तत्काल ३ सय शय्यामा विस्तार गर्नुपर्ने माग उठिरहेको छ । सुदूरपश्चिममा चिकित्सा शिक्षाका कार्यक्रम सँगै सुविधा सम्पन्न अस्पतालको पनि आवश्यकता भएकाले हाल ६ सय शय्याको अस्पतालका लागि निर्माण गरिएको भवनलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ ।

गेटा विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेयले आफूहरूको माग एमबिबिएस सँगै ३ सय शय्याको अस्पताल रहेको बताउँदै एमबिबिएस मात्रै सञ्चालन गरेर यस क्षेत्रका जनतालाई धोका दिन नहुने बताए । उनले ४ वटा अस्पताल गाभेर तत्काल एमबिबिएसको पठाई सुरु गरे पनि ३ सय शय्याको अस्पताल फुलफेजमा चल्नुपर्ने बताए ।

यसै शैक्षिकसत्रमा ३०० शय्याको शिक्षण अस्पताल

यसैबिच उपकुलपति प्रा डा सुनिलकुमार जोशीले हाल सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिमका काम धमाधम भइरहेकाले एक महिनाभित्र गेटामा तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, शैक्षिक जनशक्ति नियुक्ति नियुक्तिलगायतका काम करिब अन्तिम चरणमा रहेको बताएका छन ।

“यसै शैक्षिकसत्रमा चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । त्यसअनुसार आवश्यक बजेट व्यवस्थापन भई अन्य सैद्धान्तिक तथा प्राविधिक प्रक्रिया पनि अगाडि बढिसकेका छन्”, उनले भने ।

प्रा डा जोशीले सुदूरपश्चिम प्रदेश सरकारबाट आज चार वटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने गरी भएको निर्णयको स्वागत गरे । प्रदेश सरकारको निर्णयले सहकार्यको दायरा विस्तार गर्न महत्त्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ ।