वर्षायाम सुरु भएसँगै बाढी पहिरो र डुबानको जोखिम बढी हुन्छ । कैलालीका अन्य पालिकाहरूमध्ये केही उचाइमा भए पनि पछिल्लो समय गोदावरी नगरपालिकाले पनि डुबानको जोखिम भोग्दै आएको छ ।
सहरीकरणका कारण अत्तरियामा डुबानै नहुने क्षेत्र पनि डुब्न थालेका छन् । पछिल्लो समय अत्तरिया चोक देखि भित्री बस्ती सबैतिर डुबान हुने गरेको छ । अव्यवस्थित रूपमा सहरीकरण भइरहेको अत्तरियामा एकातिर प्राकृतिक खोला, नाला अतिक्रमण हुनु र अर्कोतिर उचित ढल निकास हुने गरी सडक निर्माण नहुँदा डुबानको समस्या वर्षेनी बढ्दै गइरहेको छ ।


केही दिन अघि परेको वर्षाले अत्तरिया चोक पुरै डुबानमा प¥यो । खोलानालाको अतिक्रमण गरी बनेका संरचनाहरूले सहरीकरण बढाए पनि पानी निकासको बाटो बन्द गरेका कारण अहिले डुबानको जोखिम अत्तरियामा बढी देखिन थालेको छ ।

अत्तरिया बजार क्षेत्रको वर्षातको पानी निकास हुने अधिकांश खोला नालाहरू अहिले अतिक्रमणको चपेटामा परेका छन् भने कतै खोलानालाको नामोनिसान मेटिएको छ । बजार भएर बग्ने र वरपर रहेको खोलानालाहरू नै मिचेर भवन बनाइँदा यहाँ डुबानको जोखिम अझ उच्च बनेको छ । यी बजारको केन्द्रमा रहेका खोला नाला मात्रै नभएर छेउछाउका खोला पनि अहिले अतिक्रमणको चपेटामा छन् ।
खोलानालाको अतिक्रमणले सृजना गर्ने जोखिमको वास्ता नगरी बनाइएका संरचनाहरूका कारण पुरै बजार नै जोखिममा परेको छ । दिन प्रतिदिन खोलाहरूमा अतिक्रमण बढिरहेको भए पनि यसलाई रोक्न भने सरोकारवाला निकाय स्थानीय तहले चासो देखाएको छैन । खोलानाला अतिक्रमण गर्नेहरूमा बढी जसो स्थानीय नेता तथा व्यापारीहरू छन् । त्यसैले पनि अतिक्रमण हटाउन जनप्रतिनिधिहरूले खुट्टा कमाउने गरेका छन् ।

तर कुनै नेता तथा व्यापारीको डरका कारण नगर बासीहरूलाई नै समस्यामा पार्ने कार्य उचित होइन । जनप्रतिनिधि जनताको हितका लागि हो, न की कुनै व्यक्ति विशेषको फाइदा पु¥याउनका लागि । जनप्रतिनिधिले कसैको व्यक्ति विशेषको मुख हेर्ने काम बन्द गरेर जनताका हितका लागि काम गर्नुपर्दछ । तसर्थ जनतालाई डुबानको जोखिमबाट मुक्त गर्न खोलानाला अतिक्रमणहरू हटाउन जरुरी छ ।
