म अदना मान्छे
ठूलो मान्छेको खोजीमा


ठूलो – ठूलो घर चाहर्दै
घरको ढोकामा हैन
छ फुटे पर्खालको द्धारमा

नेम प्लेट देखेर अड्किन्छु ।
त्यहाँ चित्र सहित लेखेको भेट्छु

‘कुकुर देखि होशियार’
फरक्क फर्किन्छु
पदचाप न गरिकन ।
अर्को त्यस भन्दा ठूलो
विदेशी छाँट काँटमा
युरोपेली माप दण्डमा
श्रृंगारित सु–सज्जित
महलको फलामे गेटमा;
झन् त्यहाँ त एलसियस कुकुरको
रातो रातो -याल टप्काउँदैको जिब्रो
लामा लामा चम्किरहेका मांसाहारी दाँतहरू

सतर्क रहेका कानहरूको चित्र मुनि
‘डाँग आफै बियर’ को अंग्रेजी नाम ।
धत्तेरिका ! म पनि त कस्ता मूर्ख रहेछु
अझै पनि त ठूला मान्छेको खोजीमा
शिश महल तिर लम्की रहेछु ।
अब मान मन अब मान
ठूला ठूला घरहरूमा त, मान्छे हैन
कुकुर बस्दा रहेछन् ।
त्यहाँ जाने सानो मान्छेलाई
टोक्दा रहेछन्
बोल्ने होइन भुक्दो रहेछन्
बोलाउने होइन, भगाउँदा रहेछन्
ठूला–ठूला घरहरूमा
मान्छे हैन
कुकुर बस्दा रहेछन्
त्यसैले होला चित्र सहित
कुकुर देखि होशियार
लेख्दा रहेछन् ।
– लेखक पुरन सिंह दयाल, संबिधान सभा सदस्य हुन, यो कविता २०४७ माघ २२ गते सृजना गरिएको थियो ।