धनगढी – कञ्चनपुरका पत्रकार खेम भण्डारी कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका छन् । अदालतको फैसला कार्यान्वयनका लागि गत असार १८ गते पक्राउ परेका भण्डारी जेलमुक्त भएका हुन् ।

भीमदत्त नगरपालिका–१८ कटानबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । निर्मला पन्त बलात्कार–हत्या प्रकरणसँग जोडिएको गालीबेइज्जती मुद्दामा उच्च अदालतले भण्डारीलाई एक महिना सात दिन कैद सजाय सुनाएको थियो ।

त्यसअघि जिल्ला अदालत कञ्चनपुरले उनलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । उच्च अदालतले जिल्ला अदालतको फैसला केही परिमार्जन गर्दै एक महिना सात दिन कैद, १२ हजार एक सय रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोडेर समाचार लेखेको आरोप लगाउँदै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टका छोराले भण्डारीविरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका थिए ।



















