खाेज्नुहाेस

२०४७ को जनआन्दोलन : पुरन दयालको डायरी (भाग–१)

Image

नयाँ वर्षको शुभकामनादेखि जनआन्दोलनको उकुसमुकुससम्म

२०४७ वैशाख १, शनिवार

attariya hospital

हामीले नववर्षको उपलक्षमा जति मिठा–मिठा शुभकामना दिए पनि आखिर मान्छेमाथि, राष्ट्रमाथि र विश्वमाथि नै संकट आउँछ भने त्यो आएरै छोड्छ। तैपनि यो एक औपचारिक परिपाटी बन्न गएको छ। नववर्ष, सहर्ष तिम्रो स्वागत छ। मूल्याङ्कन त तिम्रो २०४७ चैत ३१ गते साँझ हुनेछ।

वर्षको सुरुवात रमाइलो पार्ने परिप्रेक्ष्यमा सेभ द चिल्ड्रेनको तर्फबाट आयोजित वनभोजमा सिंह लक्षीज्यूसित नगार्जुन जाने मौका पाइयो। तर कता हो कता यस भ्रमणकारी मनलाई खुम्च्याएर सीमित राख्नुपर्‍यो। तैपनि आधा घण्टाको एकान्त लिएर अनुपम प्रकृतिको काखमा बसेर दुई कविता लेख्ने मौका प्राप्त भयो। आफूलाई उच्च एवं पश्चिमी सभ्यतामा कनि–कनि परिवर्तन गर्न खोज्ने नेपाली समाजको खिचडी सभ्यताको दर्शन भयो।

२०४५–१–२

कुम्भेश्वरस्थित सिद्धिलाल सिंहज्यूको घरमा भइरहेको वामपन्थी नेताहरू सहाना प्रधान, मनमोहन अधिकारी, सिद्धिलाल सिंहआदिको गोप्य बैठक चलिरहेको बेला बायोडाटा फाराम दिइयो। तत्पश्चात् रोनाष्ट गई खिलेन्द्र नरसिंह राणाज्यूको बायोडाटा लिई केशरी लक्ष्मी मानन्धरबाट अटोग्राफमा चार शब्द पनि लेखाइयो। उहाँको अटोग्राफ लिने कारण प्रथम पीएचडी गर्ने महिला तथा सामाजिक रूढीवादी परम्पराकी कट्टर विरोधी हुनु थियो। तुलाधर परिवारमा जन्म लिएर मानन्धर पुरुषसँग विवाह गरी सामाजिक दृष्टिकोणमाथि प्रहार गर्ने साहस गर्ने महिला भएकी हुँदा उहाँप्रति विशेष सम्मान जागेको थियो।

तत्पश्चात् आफ्नो अफिस गई राणाज्यूको बायोडाटा दिइयो। रेडियो समाचारबाट प्रज्ञा–प्रतिष्ठानमा आज बहुदल एवं निर्दलका नेताहरूबीच कुराकानी हुने थाहा पाएको थिएँ। त्यसकारण त्यतातिर हिँडियो।

प्रज्ञाभवनको गणेशस्थानतिर काँग्रेसी एवं वाम झण्डा बोकेका हजारौँ मानिस समूह–समूहमा उभिएर पञ्चायतवादी तथा बहुदलवादी वृद्ध नेताहरूप्रति प्रतिरोध व्यक्त गरिरहेका थिए। करिब ७५ प्रतिशत युवा वर्गले एक टेम्पोमा दुईवटा माइक राखेर ‘अन्तरिम सरकार गठन गर’, ‘पञ्चायतका निकाय विघटन गर’, ‘हत्याराहरूलाई फाँसी दे’, ‘संविधानको स्रोत जनता हो’ आदि नारा लगाउँदै भवनको चारैतिर परिक्रमा लगाइरहेका थिए। लगभग एक घण्टा त्यहाँको जनएकतामा सहभागी बनियो।

जनताको बाहिरी प्रदर्शन देखेर भित्रका लठ्ठीधारीहरू डराउँदै हेरिरहेका थिए। पूर्ण निर्णय नहुन्जेलसम्म प्रज्ञा–प्रतिष्ठानभित्र चलिरहेको वार्ताका सहभागीहरूलाई बाहिर नछोड्ने निर्णय जनता गर्दै थिए। समाचारबाट पनि सुन्न पाइयो कि प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दमाथि ढुङ्गा प्रहार भएपछि उहाँ भागेर भित्र जानु भएको थियो।

तत्द उपरान्त वीर अस्पताल जाँदा सर्वप्रथम बाहिर नै अनेक हस्तलिखित सूचना तथा ब्यानरहरूमा स्वास्थ्यमन्त्री नैनबहादुर स्वारले डाक्टरहरूसित अभद्र व्यवहार गरेबापत तुरुन्त राजीनामा नदिएसम्म भोकहडताल गर्ने लेखेर चिकित्सकहरू भोकहडतालमा बसेका देखिए। तिनीहरूमध्ये आफूले चिनेका डा. लोकविक्रम थापाजी पनि हुनुहुन्थ्यो।

भित्र पत्रकार चन्द्रकुमार गदालजीसँग भेट भयो। साथै, एक गाउँका विद्यार्थीसँगको भेटघाटबाट गाउँघरको समाचार थाहा पाइयो र आफन्तहरूका सङ्कीर्ण विचारधारा पनि सुन्न पाइयो।

त्यसपछि बाहिर आउँदा चिरप्रतिक्षित नेपाली कांग्रेसका वरिष्ठ नेता गणेशमान सिंहज्यू त्यही समयमा जीपबाट त्यहाँ आइपुग्नुभयो। उपस्थित जनसमूहले हार्दिक कर्तलध्वनिसहित उहाँको स्वागत गर्‍यो। लठ्ठी टेक्दै सिंहज्यू डाक्टरहरूले कालो पट्टी बाँधेर बसेको स्थानमा प्रवेश गर्नुभयो। उहाँका लागि राखिएको एक मात्र कुर्सीमा बस्नुभयो र चिकित्सकहरूसँग कुराकानी गर्न थाल्नुभयो। वर्तमान जनआन्दोलनमा ठूलो योगदान दिँदै आउनुभएका डाक्टरहरूप्रति हृदयको भित्री कुनाबाट सम्मान प्रकट गर्दै मैले पनि शिर स्वतः झुकाएँ र बाहिर निस्किएँ।

राजाको घोषणाको प्रतीक्षा, विद्यार्थी आन्दोलन र खुलामञ्चको जनलहर

२०४७ वैशाख ३ : नेपालको इतिहासमा आफ्नो पनि सम्झना गराउने दिन

बिहान बीबीसीको समाचारअनुसार प्रज्ञा–प्रतिष्ठानमा चलिरहेको वार्ताबाट नाममात्रको उपलब्धि भएको र बाहिर करिब पन्ध्र हजार जनता प्रदर्शनमा रहेको समाचार आयो। त्यसपछि नेपाल रेडियोको समाचार सुन्न खोज्दा केही समयपछि शाही घोषणा हुने सूचना सुनियो। तर अंग्रेजी समाचार आउने बेलासम्म पनि त्यही सूचनामै सीमित रहँदा प्रतीक्षाको घडी निकै लामो हुने कुरा स्पष्ट भइसकेको थियो।

वास्तवमा आजको समयमा एक घण्टाको प्रतीक्षा पनि कम मान्न सकिँदैन। सबै मानिसले आ–आफ्नो किसिमले घोषणाको पूर्वानुमान लगाइरहेका छन्, तर सबैको मूल सोच एउटै छ—बहुदलको बहुमत रहने अन्तरिम सरकार गठन हुनेछ। घोषणा अहिलेसम्म नहुनुको कारण भित्रभित्रै गठन प्रक्रियामा केही समस्या अझै समाधान नभएको जस्तो प्रतीत भइरहेको छ।

यस प्रतीक्षाको समयमा रेडियो नेपालले ‘मेरो चाहनाको साहित्य संसार’ कार्यक्रममार्फत ‘मञ्जु काँचुली ‘ का कविता आफ्नै स्वरमा वाचन पनि गरायो। तर वर्तमान राजनीतिक परिस्थितिको महत्वका कारण त्यसको स्वाद ग्रहण गर्न सकिएन। अंग्रेजी समाचारपछि राष्ट्रिय समाचार पनि प्रसारण भयो, तर सबै खल्लो नै महसुस भइरहेका छन्। अब प्रतीक्षाको अन्तिम सीमा कहिलेसम्म हो राष्ट्रको परिवर्तनमा कस्तो शुभ–अशुभ मोड आउने हो ?

दुई घण्टाको लामो प्रतीक्षापछि श्री ५ बाट सम्बोधन भयो। त्यसमा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको राजीनामा, राष्ट्रिय पञ्चायतको विघटन, सबै वर्गीय संगठन, जाँचबुझ समिति तथा जाँचबुझ आयोग विघटन गरिने र नयाँ सरकार गठन नहुँदासम्म वर्तमान मन्त्रिपरिषद्ले नै कार्यभार सम्हालिरहने घोषणा गरियो।

घोषणामा राजसभा, निर्देशक समिति तथा निरीक्षक समितिको सुझावमा संविधानको धारा ८१ को उपधारा (२) प्रयोग गरी विभिन्न धाराहरू निलम्बन गरिएको पनि उल्लेख गरियो। अब यसको क्रियाप्रतिक्रिया कस्तो हुन्छ, शहर घुमेर साँझसम्म बुझिएला।

घरबाट बाहिर निस्किनेबित्तिकै विद्यार्थीहरूको जुलुस देखापर्न थाल्यो। मंगलबजार पुग्दा अनेक विद्यार्थी जुलुसमा एकीकृत हुँदै ‘विद्यार्थी संगठन जिन्दाबाद’, ‘विद्यार्थी एकता अमर रहोस्’, ‘अन्तरिम सरकार गठन गर’, ‘सम्पूर्ण पञ्चायत भंग गर’, ‘संविधानको स्रोत जनता हो’ भन्ने नारा लगाउँदै काठमाडौंतर्फ अघि बढिरहेका थिए। पुल्चोक क्याम्पससम्म उनीहरूसँगै हिँडियो। त्यसमा छात्राहरूको पनि बराबरी र उत्साहपूर्ण सहभागिता थियो।

कुपण्डोलमा ओंकार श्रेष्ठज्यूको घर गई बायोडाटा लिन खोज्दा उहाँले नभरिसकेको थाहा पाएँ। त्यसपछि सिंहदरबारस्थित आवास तथा भौतिक मन्त्रालय तथा श्रम तथा समाजकल्याण मन्त्रालय पुगियो। राससका अध्यक्षज्यूको कार्यालयबाट पनि कुनै सफलता प्राप्त भएन।

त्यसपछि रत्नपार्कस्थित खुलामञ्चमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित शोकसभातर्फ जाँदै गर्दा विश्वज्योति सिनेमा हलमा टिकट कालोबजारी भएको थाहा पाएँ। आक्रोशित दर्शकहरूले आगो लगाएको बुझाउन गएको दमकल पनि फर्किरहेको देखियो। त्यहाँ पुगेपछि भिडबाट टिकटका ठेली निकालेर च्यात चुत पार्दै आकाशमा फालि रहेको देखियो। सिनेमा हल सञ्चालकहरूले वर्षौँदेखि यसरी जनशोषण गर्दै आएका रहेछन्। अब यस घटनाले सबै शोषकलाई राम्रो चेतावनी दिएको महसुस भयो। ‘पापको फल एक न एक दिन भोग्नैपर्छ’ भन्ने कुरा उनीहरूले पनि बुझे होलान्।

त्यसपछि खुलामञ्चको सभामा सहभागी भएँ। सभाको आकर्षणको केन्द्र पोखरा पृथ्वीनारायण क्याम्पसकी छात्रा नेतृ लक्ष्मी कार्की हुनुहुन्थ्यो। उहाँसँगै आनन्ददेव भट्ट र मोदनाथ प्रश्रित पनि प्रमुख वक्ता हुनुहुन्थ्यो।

साहित्यकार तथा बुद्धिजीवीका हैसियतले आनन्ददेव भट्टले भविष्यका नेताहरूले सामना गर्नुपर्ने चुनौती र समाधानका बाटाबारे विचार राख्नुभयो। साथै भारतसँग समानताको आधारमा सम्झौता गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

लक्ष्मी कार्कीले पोखरा प्रहरी काण्डको पीडादायी घटना अत्यन्त रोषका साथ प्रस्तुत गर्नुभयो। उहाँको अभिव्यक्तिले उपस्थित जनसमुदायमा समेत गहिरो आक्रोश उत्पन्न भयो।

navjiwan hospital

अन्त्यमा मोदनाथ प्रश्रितको भाषण हुने पालो थियो। तर रात धेरै परिसकेको र साथीहरू फर्किन आग्रह गरेकाले उहाँको पूरा भाषण सुन्न सकिएन। यद्यपि उहाँले भन्नुभएको एउटा वाक्य अझै सम्झना छ—”बढी खाए मिठो पनि तितो हुन्छ। त्यसकारण यस्ता अवसर फेरि पनि आउँछन्। सिद्धान्तमा अडिग भई संघर्षशील बनिरहौँ।”

शहीदहरूको शोकसभा : परिवर्तनका पक्षमा उठेका बुलन्द आवाजहरू

२०४७ वैशाख ४

ने.वि. संघको तर्फबाट शहीदहरूको शोकसभा

सभापति : बालकृष्ण खाँड

हृदयराम थानी :
विश्वका तानाशाह अब टिक्न सक्दैनन्। जनताले शासकहरूलाई घुँडा मात्र टेकाएका छैनन्, मुटु पनि थर्काइदिएका छन्। शाहहरूको सम्पत्तिको छानबिन हुनुपर्छ। शहीदका छोरा–छोरीको शिक्षाको व्यवस्था हुनुपर्छ। कांग्रेस एवं वामपन्थीको संयुक्त गबन्धन गाँस, बास, कपास र पूर्ण प्रजातन्त्र प्राप्ति नहुँदासम्म कायम रहनुपर्छ।

कमला पन्त (पी.के. सभापति) :
नारी भनेकी एउटा प्रकृति हो। नेपाललाई आमा भन्छन् भने नारी पनि आमा हुन्। आफ्नो काख रित्तो गरी छोरालाई रणभूमिमा पठाउने आमाको योगदान कम छैन। तानाशाही झण्डाका सिपाहीबाट चेलीबेटीहरूको इज्जत लुटियो। के उनीहरूको आफ्नै चेलीबेटी छैनन् ?

दीपेन्द्र वाग्ले (कक्षा ४) :
सात सालको स्वतन्त्रता १७ सालमा खोसिएझैँ फेरि पनि खोसिन सक्छ। त्यसकारण सतर्क रहनुपर्छ। तानाशाहीका कुहेका पातहरू रुखबाट झरिसकेका छन्। पूर्ण प्रजातन्त्रको न्यानो घाम सबैले पाउनुपर्छ।

रोजिना शाह (कक्षा ९) :
शाह वंश र पञ्चहरूले जनताको रगत चुसेका छन्। जुनसुकै नेता भए पनि अन्याय गरे दण्ड पाउनुपर्छ।

कृष्ण अमात्य :

तारा बाधक (कांग्रेस सदस्य) :
छत्तीस वर्षका रैती अब नागरिक भएका छन्। अहिलेसम्म प्रहरीको संरक्षणमा केही व्यक्तिले भाषण गर्थे, अहिले हामी जनस्वार्थका लागि स्वतन्त्र रूपमा बोलिरहेका छौँ। यो देश गाउँघरका किसान, मजदुर र सुकुम्बासीको पनि हो। पञ्चायतको जस्तै एकातिर काखा र अर्कोतिर पाखा गर्ने प्रजातन्त्र हुँदैन। जनताको सहभागिताबिना देश बन्दैन। बीस वर्षमा नेपालीहरू कङ्गाल भएका छन्। अब हाम्रो कुनै मालिक छैन, जनता आफैँ आफ्नो मालिक हुन्। तीस वर्षको शान्ति मसानको शान्ति थियो, मुर्दा शान्ति थियो। जनतासित काँधमा काँध मिलाएर हिँड्नुपरेको छ। रातो झण्डा टाउकोमा बाँधेर हिँड्ने र पहिले राजाको फोटो छातीमा टाँसेर हिँड्ने व्यक्तिबाट सतर्क रहनुपर्छ।

दुर्गाप्रसाद भण्डारी :
शोषणरहित समाजको नारा दिने शोषितहरूको अब अन्त्य भएको छ। मानवअधिकारको नाममा नरसंहार गरिएको थियो। रुपचन्द विष्टको कविताजस्तै छन्दहीन, रसहीन र अर्थहीन पञ्चायती व्यवस्था थियो। जीवन कायरले तीनचोटि मर्छ। आफूलाई गुमाउन सक्छ भने स्वर्ग प्राप्त हुन्छ। (शहीद)

शोकसभा
२०४७ । १ । ४
बासु शशी :
अब नेपालको जिम्मेवारी विद्यार्थीहरूमाथि निर्भर छ। कहिलै रामचन्द्र पनि स्वर्गीय हुन सक्छन र ?त्यसकारण बीपी पनि सधैँ स्वर्गीय रहँदैनन्। सजिलो ठाउँमा दुई पाइला र असजिलो ठाउँमा एउटा पाइला चाल्नुको कारण भगवानले नै बताउनुभएको छ।

ज्ञानेन्द्रबहादुर कार्की :
जनता नै जनार्दन हुन्छ भन्ने कुरा जनआन्दोलनले देखाइदिएको छ। आज परिवर्तन र प्रजातन्त्रको युग हो। यो समयले इमानदारी र क्रियाशीलताको माग गरेको छ।

फुणेन्द्र भण्डारी :
पञ्चायती शासकहरूले दिएको यातनाको वर्णन गर्न म कवि भएको भए एउटा महाकाव्य लेख्न सक्थेँ।

ईश्वरीचन्द्र शर्मा :
संविधानभन्दा माथि नेपालमा कुनै शक्ति नहोस्।

धनश्याम भुसाल (महासचिव) :
सूर्य–चन्द्र रहुञ्जेल बाँच्न खोज्नेहरू घुँडा टेकिसकेका छन्। जब शाही घोषणा हुन्छ, तब देशका अधिकार खोसिन्छन्। घाँटी निमोठिन्छ। शाही घोषणा हुने व्यवस्था अन्त्य हुनुपर्छ। विदेशी बैंकमा ३५० करोड डलर राख्ने व्यक्ति नेपाली नागरिक हुन् भने त्यो सम्पत्ति नेपालमै फिर्ता हुनुपर्छ। सुन्दर महलभित्रका काला कर्तुत नेपालीहरूले बुझिसकेका छन्।

नेपाल कृषि विकास बैंक, न्यूरोडका कर्मचारीहरूले एक दिनको तलब बराबरको रु. १,०९६ शहीद तथा घाइतेका परिवारलाई प्रदान गरे।

अशेष मल्ल (नाटककार) :
केही घटिया कविता लेख्ने कविहरूलाई शासकहरूले लक्ष्मीप्रसाद देवकोटाभन्दा माथिल्लो तहमा राखे। अब सांस्कृतिक पुनर्निर्माण गर्नुपर्छ। बौद्धिक दासताबाट मुक्त हुनुपर्छ। अब कविता र लेख नयाँ ढङ्गले लेखिनुपर्छ।

नवेन्द्र ओझा (महामन्त्री, ने.वि. संघ) :
आज पाएको अधिकार कसैको दया वा मायाले प्राप्त भएको होइन। यो शहीदहरूको बलिदानको परिणाम हो।

अन्तिममा…

२०४७ साल वैशाख १ देखि ४ गतेसम्मका यी डायरीका पानाहरू पढ्दा त्यो समयको आन्दोलन केवल राजनीतिक परिवर्तनको आन्दोलन मात्र नभई जनताको चेतना, साहस र लोकतन्त्रप्रतिको विश्वासको आन्दोलन पनि थियो भन्ने अनुभूति हुन्छ।

यी चार दिनमा नयाँ वर्षको सुरुवातदेखि जनआन्दोलनको उकुसमुकुस, प्रज्ञा–प्रतिष्ठान वरिपरिको जनदबाब, वीर अस्पतालमा आन्दोलनरत चिकित्सकहरू, गणेशमान सिंहको उपस्थिति, राजाको घोषणाको प्रतीक्षा, विद्यार्थी आन्दोलन, खुलामञ्चका सभा तथा शहीदहरूको सम्मानमा आयोजित कार्यक्रममा प्रत्यक्ष सहभागी भएर देखेका र अनुभव गरेका घटनाहरू टिपोट गरिएका छन ।

डायरीमा उल्लेख भएका सहाना प्रधान, मनमोहन अधिकारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, लक्ष्मी कार्की, आनन्ददेव भट्ट, मोदनाथ प्रश्रित, बालकृष्ण खाँड, हृदयराम थानी, धनश्याम भुसाललगायतका व्यक्तित्वहरूको भूमिका र अभिव्यक्तिले तत्कालीन आन्दोलनको वातावरणलाई जीवन्त बनाएको छ। यी टिपोटहरूले आन्दोलनको राजनीतिक पक्षसँगै त्यसबेलाको सामाजिक चेतना, विद्यार्थी आन्दोलन र नागरिक सहभागिताको पनि चित्र प्रस्तुत गर्छन्।

यी डायरीका पानाहरू इतिहासका औपचारिक दस्तावेज होइनन्, बरु आन्दोलनका बीचमा उभिएको एक सचेत नागरिकका प्रत्यक्ष अनुभूति हुन्। त्यसैले यसमा व्यक्त भएका विचार, टिप्पणी र अनुभूति लेखकका व्यक्तिगत दृष्टिकोणका रूपमा बुझ्नुपर्छ।

सम्पादकीय

नेपालमा २०४६/४७ सालको जनआन्दोलन आधुनिक नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण अध्याय हो। त्यस समयका प्रत्यक्षदर्शी पुरन दयालले आन्दोलनका क्रममा देखेका दृश्य, सुनेका भाषण र आफ्ना अनुभूतिहरू डायरीमा टिपोट गरेका थिए। प्रस्तुत शृङ्खलामा २०४७ साल वैशाख १ देखि ४ गतेसम्मका मूल भाव र शैली जस्ताको तस्तै राखी प्रकाशित गरिएको हो।  नयाँ पुस्ताले तत्कालीन जनआन्दोलनको वातावरण बुझून् भन्ने उद्देश्यले यो ऐतिहासिक सामग्री प्रकाशित गरिएको हो। क्रमिक रुपमा प्रकाशित हुदै गर्ने छन् ।