अत्तरिया– प्रहरीले कैलाली र कञ्चनपुरबाट अन्दाजी ४ लाख भन्दा बढीका अवैध भन्सार छलीका सामान बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलालीबाट अन्दाजी ३ लाख १५ हजार ६५० र कञ्चनपुरबाट अन्दाजी १ लाख १३ हजार ३९० गरी ४ लाख २९ हजार ४० रुपैया बराबरका भन्सार छलीका सामान बरामद गरिएको हो ।

कैलालीबाट चिनि, बिडि, सुर्ति, बुक्रम, भाँडा बर्तन, किराना लगायतका अवैध रुपमा भन्सार छली गरि ल्याईएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले उक्त सामानहरु बरामद गरेको हो ।

त्यस्तै कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले सुटपिस, धोति, किराना लगायतका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत खटिएको प्रहरी टोलीले अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याईएका सो सामानहरु बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


















