काठमाडौँ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छन् । सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री डा राणाले सो आग्रह गरेकी हुन् ।

परराष्ट्रमन्त्री डा राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपरहणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो ।

मन्त्री डा राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद ज्ञापन गर्दै यस विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरिन् ।
यसअघि पनि मन्त्री डा राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गरेकी थिइन् । सन् २०२३ देखि नै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग गर्न मन्त्री डा राणाले विश्व समुदायसँग आग्रह गर्दै आएकी छन् ।

















