मानवीय जीवन मात्रै नभई पृथ्वीमा रहेका हरेक सजीव जीवहरूको बाच्ने आधार बनजंगल हो । जंगलबिना पृथ्वीमा मानिस मात्रै नभई सजीव वस्तुको अस्तित्व समेत कल्पना गर्न सकिँदैन । तर पछिल्लो समय आगलागीका कारण वनजंगल विनाश हुने गरेको छ । हरेक वर्ष गर्मीको समयमा नेपालका वनजंगलमा डढेलो लाग्ने समस्या दोहोरिइरहेको छ ।
चैतदेखि जेठ महिनासम्म देशभर धेरै वन क्षेत्रमा आगो लाग्ने गरेको देखिन्छ । यस्तो आगलागीले वनस्पति, वन्यजन्तु, वातावरण र मानिसहरूको जीवनमा गम्भीर असर पु¥याउँछ । वनजंगलले नागरिकहरूलाई स्वस्थ हावापानी प्रदान गरिरहेको छ । त्यति मात्रै नभई बनहरूले हाम्रा लागि काठ, जडीबुटी, अक्सिजन जस्ता आवश्यक कुराहरू दिन्छन् । वनमा डढेलो लाग्दा धेरैजसो यस्ता स्रोतहरू नष्ट हुन्छन् । वन्यजन्तु भाग्न नपाएर मर्छन्, धुवाँले वायुमण्डल प्रदूषित हुन्छ र खेतीयोग्य जमिन पनि कमजोर बन्छ ।

आगलागी मानवीय लापरबाही सँगै भवितव्य हुने घटना हुन । तर डढेलोको मुख्य कारण मानव लापरबाही नै हो । घाँस र दाउरा सङ्कलन गर्दा, खेतबारी सफा गर्दा वा जङ्गली जनावर भगाउन आगो बाल्ने गरिन्छ । कतिपय अवस्थामा खेलकै रूपमा आगो लगाउने जस्ता लापरबाही पनि देखिन्छ । जलवायु परिवर्तनले पनि बन सुक्खा बनाउँछ, जसले आगो छिट्टै फैलन सहयोग गर्छ । त्यसबाहेक तापक्रम बढ्दै जाँदा हावाहुरीले पनि आगलागी हुन सहयोग पुग्छ । आगो आफैँमा संवेदनशील पदार्थ हो ।

हावाहुरीले आगोलाई सहजै एक ठाउँबाट अर्के ठाउँमा पु¥याइदिन्छ । आगो प्रयोग गर्न अनिवार्य भए पनि त्यसको सुरक्षामा विशेष ख्याल गरिएन भने आगोले ठुलो क्षति पु¥याउन बेर लगाउँदैन । आगलागीका घटना हरेक वर्ष जसो दोहरिइरहेका हुन्छन् । आगोकै कारण ठुला दुर्घटना निम्तिन सक्छन् । आगलागीकै कारण ठुलो जनधनको क्षति हुन सक्छ ।
वनमा लागेको आगो नियन्त्रण गर्न सरकारले प्रयास गरे पनि पर्याप्त स्रोत र जनशक्ति छैन । बन कर्मचारीहरूमा तालिमको अभाव छ, र स्थानीय बासिन्दामा चेतनाको कमी छ । डढेलो नियन्त्रण उपकरणहरू पनि पर्याप्त छैनन् । यस्तो अवस्थामा दीर्घकालीन समाधान खोज्न जरुरी छ । समाधानको लागि विद्यालयहरूमा डढेलो रोकथाम सम्बन्धी शिक्षा दिन सकिन्छ । सञ्चार माध्यमबाट जनचेतना फैलाउनु जरुरी छ । साथै, वैज्ञानिक प्रविधिको प्रयोग गरेर आगलागीको पूर्व सूचना दिन सकिने व्यवस्था मिलाउनुपर्छ ।

यस्तै दमकल तयारी अवस्थामा राख्ने, सडक पहुँच सहज बनाउने, हरेक गाउँ टोलमा पानीको उचित व्यवस्था गर्ने लगायतका आधारभूत पूर्व तयारी गर्न कन्जुस्याइँ गर्न हुँदैन । बन हाम्रो सम्पत्ति हो, जुन हामीले भविष्यको पुस्ताका लागि जोगाएर राख्नुपर्छ । बन जोगाउनु भनेको हाम्रो जीवन, स्वास्थ्य र वातावरण जोगाउनु हो । त्यसैले बनको आगलागी रोक्न हरेक नागरिक, सरकारी निकाय र स्थानीय समुदायले ऐक्यबद्ध भएर लाग्न आवश्यक छ ।
