अत्तरिया– कैलालीको गौरीगंगा नगरपालिका– ६ मा रहेको बाह्रवन साझेदारी बन व्यवस्थापन समूहको नयाँ कार्यसमितिका लागि यही वैशाख ११ गते निर्वाचन हुदैछ । निर्वाचनमा अध्यक्षका लागि विर बहादुर चोखाल, डण्डीराज सुवेदी र टेक बहादुर बुढा चुनावी मैदानमा उत्रिएका छन । बुढा नेकपा एमाले निकट हुन भने बाँकी दुई जना उम्मेदवार कांग्रेस निकट मानिन्छन । चोखाल त नेपाली कांग्रेस गोदावरी नगरपालिकाका सभापति समेत हुन ।
कांग्रेसबाटै दुई जनाको उम्मेदवारी परेपछि आईतबार नेपाली कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो आधिकारीक उम्मेदवारका बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले कांग्रेसले गोदावरी नगरसभापति चोखालको नेतृत्वमा टिम तयार गरेको बताए ।


उनले कांग्रेसबाट चोखालको नेतृत्वमा नेकपा माओवादी सहितको टीम बनाईएको बताए । उनले सबैसँगको सहकार्य र छलफल पश्चात नै चोखाललाई उम्मेदवारका रुपमा प्रस्तुत गरिएको बताए । ‘नेपाली कांग्रेसबाट दुई जनाले उम्मेदवारी दिनुभएको छ’ उनले भने ‘त्यसमध्ये कैलाली क्षेत्र नं. ४ र ५ का कांग्रेसका अगुवा नेताहरु तथा क्षेत्रिय सभापति सहितको टिमले लामो समयसम्म संवाद र छलफल गरेर चोखाललाई आधिकारीक उम्मेदवारका रुपमा अघि सारेको हो ।’
सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका कैलाली क्षेत्र नं. ४ का सभापति बसन्त रोकाया (ललित) ले नेपाली कांग्रेसका तर्फबाट विर बहादुर चोखाल नेतृत्वको टिम नै आधिकारीक भएको बताए । उनले बाहिरी हल्लाको पछि नलागी कांग्रेसको आधिकारीक उम्मेदवारलाई जिताउनतर्फ लाग्न उनले कांगेसका सबै नेताकार्यकर्ताहरुलाई आग्रह गरे ।
अध्यक्षका उम्मेदवार चोखालले पार्टीले आफूलाई आधिकारीक रुपमा उम्मेदवार बनाएको भन्दै पार्टी नेतृत्वलाई धन्यवाद दिए । उनले पार्टीको आधिकारीक उम्मेदवार भएकाले आफूले सबैको साथ र सहयोग पाउने अपेक्षा लिएको समेत बताए ।
