कैलाली जिल्लामा लागुऔषध दुव्र्यसन र भारतबाट हुने अवैध चोरी तस्करी दिनानुदिन भयावह बन्दै गएको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, एक वर्षको अवधिमा मात्र ७७० जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ । यसले युवापुस्ता लागुऔषधको चपेटा कत्तिको परेका छन भन्ने देखाउन्छ । लागुऔषध नियन्त्रणका लागि ठूलो संख्यामा पक्राउ परेपछि बढै गएको लागू औषध नियन्त्रणमा भने चुनौती बढ्दै गइरहेको छ ।

यसबाहेक, भारतबाट हुने चोरी तस्करी पनि जिल्लाको सुरक्षाका लागि अर्को ठूलो चुनौती बनेको छ । ११ करोडभन्दा बढी मूल्यका अवैध सामान बरामद हुनु, ८६ वटा सवारीसाधन नियन्त्रणमा लिइनु र ३६ जना पक्राउ हुनु यसतर्फको गम्भीर संकेत हो । साथसाथै, फरार प्रतिवादीहरूको गिरफ्तारी तथा अदालतमा पेश गरेर कैद र जरिवाना तिराउनुले कानुनी प्रक्रिया पनि प्रभावकारीरूपमा अघि बढिरहेको देखिन्छ ।

तर यति मात्र पर्याप्त छैन । लागुऔषधको दलदलमा विद्यालय उमेर समूहका बालबालिका समेत तानिन थालेको सूचनाले समाजलाई झस्काउने खालको चेतावनी दिएको छ । यस समस्यासँग जुध्न प्रहरी प्रशासनको प्रयास मात्र होइन, अभिभावक, शिक्षक, स्थानीय अगुवा र सम्पूर्ण समुदायको साझा उत्तरदायित्व आवश्यक छ । यस सन्दर्भमा ’समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्न सक्ने सम्भावना बोकेको देखिन्छ, यदि त्यसलाई अझ व्यापक बनाउन आवश्यक छ ।
लागू औषधको समस्या नियन्त्रण गर्न दीर्घकालीन योजना र सामाजिक रूपान्तरण अपरिहार्य छ । शिक्षा, चेतना, पुनर्वास र वैकल्पिक रोजगारीका अवसरहरू सिर्जना गरी मात्र यो समस्याको मूल जरो हटाउन सकिनेछ । अहिले नै ध्यान नदिइयो भने यसको असर सम्पूर्ण समाजमा गहिरो हुने देखिन्छ ।