खाेज्नुहाेस

अत्तरिया क्रिकेट एकेडेमी राष्ट्रिय खुल्ला टी–२० क्रिकेटको सेमिफाइनलमा

Image

कास्की – अत्तरिया क्रिकेट एकेडेमी पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा क्रिकेट मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई पराजित गरेसँगै अत्तरियाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । समूह ‘डी’को खेलमा अत्तरियाले मालपोखरीलाई ६ विकेटले पराजित ग¥यो ।

१ सय २५ रनको लक्ष्य पछ्याएको अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाएर १ सय २८ रन बनायो । अत्तरियाका लागि ओपनर अभिषेक पालले सर्वाधिक ३८ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरेर रनआउट भए । निश्चल क्षेत्रीले ३०, बिपीन रावलले १६, टेक रावतले १४, अर्जुन विकले १२ र खगेन्द्र जोशीले ४ रन बनाए । निश्चल र अर्जुन नटआउट रहे । मालपोखरीका सन्दीप खड्का, सिरज हवारी र दब्लु मलिकले १–१ विकेट लिए ।

attariya hospital

टस हारेर ब्याटिङ थालेको मालपोखरी १७.४ ओभरमा १ सय २४ रन बनाएर अलआउट भयो । मालपोखरीका विजय गुप्ताले सर्वाधिक ३८ रन बनाए । ३६ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । दब्लु मलिक र जितेश मण्डलले १७–१७, सोहनकुमार यादवले १६, सिरज हवारीले १३, अकिल खानले ९, रनवीर यादवले २ र सन्दीप खड्काले १ रन बनाए । अकिल नटआउट रहे भने सन्दीप रनआउट भए । आतिश दास, चन्दन यादव र पंकज यादवले रन बनाउन सकेनन् । अत्तरियाका अर्जुन विक, हिक्मत महर, सौर्य श्रेष्ठ, सुशील साउदले २–२ र भोजराज भट्टले १ विकेट लिए ।

बुधबारको खेलमा अत्तरियाका अर्जुन विक उत्कृष्ट खेलाडी बने । प्रतियोगितामा सीईसी काठमाडौं, गण्डकी हिरोज र हिमाल फ्रेन्ड्स सेमिफाइनल प्रवेश गरिसकेका छन् । बिहीबार पहिलो सेमिफाइनलमा काठमाडौं र हिमाल फ्रेन्ड्स, दोस्रो सेमिफाइनलमा गण्डकी र अत्तरिया खेल्नेछन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी १६ टिम सहभागी प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ । विजेताले १० लाख, उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।