खाेज्नुहाेस

‘दुर्गालक्ष्मी दौडिन्छ..’ म्याराथन दौड आयोजना गरिने

Image

अत्तरिया – कैलालीको अत्तरियामा ‘दुर्गालक्ष्मी दौडिन्छ..’ म्याराथन दौड आयोजना गरिने भएको छ । दुर्गालक्ष्मी माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको आयोजनमा चैत २९ गते म्याराथन दौड आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष नारद प्रसाद भट्टले दुर्गालक्ष्मी नमुना माविको स्वर्ण महोत्सवको अवसरमा दुर्गालक्ष्मी दौड प्रतियोगिताको आयोजना गरिएको बताए । यस क्षेत्रमा बसोबास गर्ने आम जनसमुदायलाई दौडको महत्त्व झल्काउने गरी पूर्व विद्यार्थीहरूमा एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्न दौड प्रतियोगिता आयोजना गरिएको बताए ।

attariya hospital

दौड प्रतियोगितामा जुनसुकै उमेर समूहका जुनसुकै व्यक्तिले सहभागी हुन पाउने उनले बताए । उक्त दौड प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार १११, द्धितिय हुनेलाई ११ हजार १११ र तृतीय हुनेलाई ५ हजार १११ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
दौड प्रतियोगितामा सहभागिताका लागि ५ सय रुपैयाँ नाम दर्ता शुल्क तोकिएको छ । नाम दर्ता गराउनेलाई पूर्व विद्यार्थी मञ्च दुर्गालक्ष्मी मावि उल्लेख भएको चिन्ह अङ्कित जर्सी (टी–सर्ट) दिइने जनाइएको छ । दौड प्रतियोगिता बिहान साढे ६ बजेदेखि सुरु हुने जनाइएको छ । दौड प्रतियोगिता दुर्गालक्ष्मी नमुना माविबाट सुरु भएर गोदावरीको वनदेवी मन्दिर पुगेर पुनः दुर्गालक्ष्मी नमुना मावि सम्म पुगेर सम्पन्न हुने छ ।

पत्रकार सम्मेलनमा बोल्दै दुर्गालक्ष्मी नमुना माविका अध्यक्ष गणेश शाहले यस विद्यालयमा अध्ययन गरी संसारभरी छरिएर रहेका विद्यार्थीलाई एकजुट गरी पूर्व विद्यार्थी मञ्च गठन गरिएको बताए । उनले पूर्व विद्यार्थी मञ्च गठन भएको छोटो समयमै ठुलो कार्यक्रमको आयोजना गर्नु आफैमा ठुलो सफलता भएको बताए । चैत १६ गते पूर्व विद्यार्थी मञ्च गठन गरिएको थियो ।

दुर्गालक्ष्मी नमुना माविले यही चैत २७, २८ र २९ गते स्थापनाको ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउँदै छ ।