खाेज्नुहाेस

डा. सुशील कोइरालालाई सम्मान सहित विदाई

Image

बबिता पाल, अत्तरिया  – मानव संशाधन विकास प्रतिष्ठानद्धारा गोदावरी नगरपालिका–६, श्रीपुरमा संचालित लक्ष्मीनारायण क्षयरोग अस्पतालले दामियन फाउण्डेसनका नेपाल प्रतिनिधि डा. सुशील कोइरालालाई सम्मान सहित विदाई गरेको छ।

लक्ष्मीनारायण क्षयरोग अस्पतालको स्थापनादेखि नै निरन्तर सहयोग गर्दै आएको बेल्जियमको दामियन फाउण्डेसनको नेपाल कार्यक्रम समाप्त भएसँगै, लामो समयसम्म संस्थाका प्रमुखको जिम्मेवारी सम्हालेका डा. कोइरालालाई एक विशेष समारोहका बीच विदाई गरिएको हो।

attariya hospital

लक्ष्मीनारायण क्षयरोग अस्पताल सुदूरपश्चिम प्रदेशकै प्रमुख क्षयरोग उपचार केन्द्र हो, जसले आवासीय सुविधा सहित निशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ। वि.सं. २०७६ देखि दामियन फाउण्डेसनले अस्पताललाई भवन निर्माण, संचालन तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै सहयोग गर्दै आएको थियो।

दामियन फाउण्डेसन नेपालका प्रमुख डा. सुशील कोइरालाले सुदूरपश्चिमका क्षयरोग प्रभावित बिरामीहरूलाई गुणस्तरीय सेवा दिन अस्पतालमा उल्लेखनीय सुधार ल्याएको प्रतिष्ठानका महासचिव पद्मराज जोशीले बताए।

navjiwan hospital

उनले भने, “अस्पतालले सुदूरपश्चिमका क्षयरोग पीडितहरूलाई खान, बस्न र औषधोपचारमा पूर्णरूपमा सहयोग गर्दै आएको छ। यसमा डा. कोइरालाको भूमिका अविस्मरणीय छ।”

डा. सुशील कोइरालाको विदाई तथा सम्मान समारोह प्रतिष्ठानका अध्यक्ष लक्ष्मीराज पन्तको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै डा. कोइरालाले दामियन फाउण्डेसनले नेपालमा गरेको कार्यलाई स्मरण गर्दै भने, “लक्ष्मीनारायण क्षयरोग अस्पतालको स्थापना तथा संचालनमा हाम्रो संस्था र टिमको अतुलनीय योगदान रह्यो। यस अस्पतालले अझ प्रभावकारी सेवा दिन सक्नेछ भन्ने विश्वास छ।”

मानव संशाधन प्रतिष्ठानका कोषाध्यक्ष सिवी चन्दका अनुसार, “लक्ष्मीनारायण क्षयरोग अस्पतालको स्थापना नेपाल सरकार, दामियन फाउण्डेसन र मानव संशाधन विकास प्रतिष्ठानको समन्वयमा गरिएको थियो। यसले विगतदेखि नै क्षयरोग प्रभावितहरूको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।”

क्षयरोग नेपालको प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो। सुदूरपश्चिम जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा यस्तो उपचार सुविधा उपलब्ध गराउनु डामियन फाउण्डेसन र स्थानीय संस्थाहरूको ठूलो उपलब्धि हो।

प्रतिष्ठानका पदाधिकारीहरूले भविष्यमा पनि क्षयरोग विरुद्धको अभियानलाई निरन्तरता दिन सरकारी तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।