खाेज्नुहाेस

प्रविधिमैत्री वातावरण सृजना गर

Image

आजको यो युग प्रविधिमैत्री युग हो । डिजिटल जमाना सुरु भएसँगै प्रविधिको प्रभाव र महत्व जीवनका हरेक क्षेत्रसम्म फैलिएको छ । विज्ञान र प्रविधिको विकासले मानिसको जीवनस्तरमा अत्यधिक सुधार ल्याएको छ भने समग्र समाजमा पनि सकारात्मक परिवर्तनको सम्भावना खुलाएको छ । यो एक्काईसौ शताब्दीमा विज्ञान र प्रविधिको आवश्यकता अनिवार्य जस्तै बनिसकेको छ । यस्तो अवस्थामा हरेक क्षेत्रमा प्रविधिमैत्री वातावरणहरू तयार गर्न जरुरी देखिएको छ ।

प्रविधिको सही सदुपयोग गर्न सके यसले हरेक क्षेत्रमा सकारात्मक नतिजा देखाएको छ भने कहीँ कतै यसको गलत प्रयोग समेत भइरहेको अवस्था छ । जसका कारण विभिन्न घटनाहरू समेत घटिरहेका छन् । प्रविधिको दुरुपयोगले विभिन्न समस्याहरू उत्पन्न गरेको छ, जसका कारण पनि प्रविधिमैत्री वातावरणको आवश्यकता बढ्दै गएको छ ।

attariya hospital
navjiwan hospital

प्रविधिको विकाससँगै यसको दुरुपयोग र अन्य नकारात्मक प्रभावबाट बच्नका लागि शिक्षा र जनचेतना आवश्यक छ । आजका बालबालिका र युवा पिँढीलाई प्रविधिको सही र जिम्मेवार प्रयोगका बारेमा शिक्षित गर्नु अत्यन्तै महत्त्वपूर्ण छ । विद्यालय र विश्वविद्यालयहरूले यसको विषयमा पाठ्यक्रमहरू राखेर विद्यार्थीहरूलाई प्रविधिको सही प्रयोगका बारेमा जानकारी दिनुपर्छ । प्रविधिको बारेमा सही जानकारी भए भविष्यमा यसको दुरुपयोगबाट बच्न सकिन्छ । त्यस्तै, सरकार र विभिन्न संस्थाहरूले प्रविधिको प्रभावी र सुरक्षित प्रयोगको लागि नीति र कानुनी संरचनाहरू बनाउनु आवश्यक छ । अनलाइन सुरक्षा, डेटा सुरक्षा र साइबर अपराधसँग जुझ्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । यसले जनतालाई विश्वास दिलाउँछ र प्रविधिको दुरुपयोगको सम्भावना घटाउँछ ।

त्यति मात्रै नभई समाजका हरेक सदस्यले पनि यसको प्रयोगका बारेमा सचेत र जिम्मेवार भएर काम गर्नुपर्छ । प्रविधिको सदुपयोग र यसको प्रभावकारी व्यवस्थापनले प्रविधिमैत्री वातावरण सृजना गर्न मद्दत पु¥याउनेछ । प्रविधिमैत्री वातावरण सृजना भए यसले बेरोजगारीको समस्या समाधान गर्नुका साथै समाज विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । जब प्रविधिको प्रभावकारी र पर्यावरणमैत्री प्रयोग गरिन्छ, तब नयाँ रोजगारीका अवसरहरू उत्पन्न हुन्छन् र यसले समग्र आर्थिक वृद्धिमा योगदान पु-याउँछ ।

देशमा बेरोजगारीको समस्या बढ्दो छ । त्यसमा पनि प्रविधिको प्रयोग गरिराखेकाहरू विभिन्न समस्यामा पर्ने गरेका समाचारहरू छ्यापछ्याप्ती आइरहेका छन् । प्रविधिको बारेमा जानकारी नभएकाहरू र सामान्य जानकारी भएकाहरू नै ह्याकर र ब्ल्याकमेलरको निसानामा परेका हुन्छन् । प्रविधिको उचित ज्ञान भएमा र प्रविधिलाई रोजगारीसँग जोड्न सकेमा यसले देशको अर्थव्यवस्थामा पनि वृद्धि गर्न सक्छ । अहिलेको समयमा प्रविधि नै आर्थिक विकासको मेरुदण्डका रूपमा देखिएको छ । तसर्थ विद्यालयस्तरदेखी नै प्रविधिलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक देखिन्छ । त्यसका लागि प्रविधिमैत्री वातावरण तयार गर्न अहिले देखी आवश्यक छ ।

maya metro hospital