अत्तरिया – ‘चैत कै महिना थियो । बुवा एक्कासि बिरामी हुनुभयो’ १५ वर्ष अघिकाे कुरा सम्झिँदै गोपालले भने ‘बुवा सोही बिरामीले बित्नुभयो । त्यसपछि मैले वैशाख देखि बुवाको आरन पेसा सम्हालेको थिए ।’ पुस्तैनी पेसा सम्हाले पनि उनको काम गर्ने ठेगाना भने कहिले स्थायी भएन । ‘पहिला बुवाले स्कुलको अगाडी पाल टाँगेर काम गर्नुहुन्थ्यो । त्यसपछि त्यहाँ स्कुलले हटाएपछि म उ पारिपट्टि सरे । त्यहाँ पनि रोडको क्षेत्र परेपछि अहिले यहाँ बसेर काम गरेको ३ वर्ष भयो होला’ उनले भने ‘अव त यही अन्तिम हुन्छ होला । भारत जाने तयारी गरेको छु ।’

कैलालीको गोदावरी नगरपालिका – २ अत्तरिया स्थित भीमदत्त राजमार्ग छेउमा सानो टहरा बनाएर आरनको पेसा गर्दै आएका गोपाल विकले पहिला जस्तो कमाइ नभएकाले भारत जाने सोच बनाएको बताए । ‘अहिले सम्म बहनी (बिक्री) भएको छैन’ साँझ ४ बजे गरिएको कुराकानीमा उनले भने ‘अहिले सबै काम गर्ने मेसिन आए । सबै काम मेसिनले हुन थालेपछि ग्राहक नै आउन छाडे ।’ उनले खेत जोत्ने, धान गहुँ काट्ने मेसिन आएपछि आफूहरूको पेसा सङ्कटमा परेको बताए ।

आरन पेसाले ३ छोराछोरी र श्रीमती सहित ५ जनाको परिवार पाल्न धौ धौ भएको उनले बताए । ‘उ त्यो सरकारी स्कुल (दुर्गा लक्ष्मी नमुना मावि) मा ३ छोराछोरी पढ्छन् । नाम मात्रैको सरकारी हो । वर्षको ५/६ हजार फिस लिइहान्छन्’ उनले भने ‘कमाइ भने बढी भएको दिन ७/८ सय हुन्छ । कुनै दिन खाली पनि घर जानुपर्छ ।’ उनले घर चलाउन धौ–धौ भएकाले भारत जाने तयारी गरेको बताए ।

‘बुवा आरनको काम गर्दा पनि म भारतमा थिए । अलि अलि काम सिकेकाले बुवा बितेपछि यही काम गरे’ ४० वर्ष कटेका गोपालले भने ‘अब त निकै मुस्किल हुन लाग्यो । भारत जानुको विकल्प छैन ।’ उनले भारतमा गएर सेक्युरिटी गार्डको काम गर्ने योजना रहेको बताए ।
अपग्रेड भएन सीप
स्थानीय सरकार आएपछि अहिले तालिम दिने र लिनेलाई भ्याइनभ्याइ छ । तर, गोपालले भने आफ्नो पेसा सम्बन्धी कहिले तालिम नदिइएको बताए । ‘अरू ठाउँमा फाट्टफुट्ट तालिम भएको सुन्छु । हाम्रो ठाउँमा त भएन’ उनले भने ‘तालिम भए केही नयाँ कुरा सिकिन्थ्यो होला । अहिलेको बजारमा माग भए अनुसारका सामान बनाउन सकिन्थ्यो होला ।’ उनले पेसालाई अपग्रेड गर्न सकेमा सायद विस्थापित नै हुनुपर्ने अवस्था नआउन सक्ने बताए । ‘फलाम काट्ने मेसिन ल्याउन सके सायद धेरै भाँडाकुँडा बनाएर बजारमा बेच्न सकिन्थ्यो होला’ उनले भने ‘मेसिनलाई एक डेढ लाख पर्छ भन्ने सुनेको थिए । तर, मैले देखेको छैन ।’
उनले बजारमा आफूले बनाएका भन्दा कमसल सामान (हँसिया, बन्चरो, कोदालो) बिक्री हुने गरेको भए पनि आफ्ना सामान नबेचिने गरेको बताए । ‘हाम्रा हातले बनाएका सामान बलिया हुन्छन् तर, मेसिनले बनाएका जस्ता चिल्ला हुँदैनन्’ उनले भने ‘अहिले ग्राहकले पनि ती चिल्ला सामान नै खोज्छन् । ती केही सस्ता पनि हुन्छन् ।’