होली रङ्गहरूको चाड हो । यो हिन्दु धर्मको एक प्रमुख पर्व हो, जुन प्रत्येक वर्ष फागुन महिनाको पूर्णिमामा मनाइन्छ । यो पर्व विशेष गरी भारत र नेपालमा मनाइन्छ, तर संसारभरिका हिन्दु समुदायमा यसको महत्त्व छ । होलीले केवल धार्मिक महत्त्व मात्र राख्दैन, यसले सामाजिक र सांस्कृतिक एकता, प्रेम र भाइचारा को भावनालाई पनि प्रवर्धन गर्दछ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।

होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । यसको धार्मिक आधार भनेको भगवान् विष्णुको अवतार हो, जसले राक्षस होलिकालाई पराजित गरे । त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपू) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैँ आगोमा भष्म भएकी थिइन र विष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरु भएको मानिन्छ ।

यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष पनि गर्दछ । यस पर्वमा प्रत्येक व्यक्ति आपसमा रङ साटासाट गर्दै, एक अर्कासँग मिलेर खुसी मनाउँछन् । होली समाजमा नफरत र द्वन्द्वको भेदलाई तोड्न, र मानिसहरूलाई एकै थलोमा मिलेर रमाइलो गर्ने अवसर दिन्छ । यस पर्वमा जात, धर्म र वर्गको भेदभाव नमानीकन सबैले एक–अर्कासँग प्रेम र सद्भावको भावनासहित सहभागिता जनाउँछन् । यो पर्व केवल एक दिनको उत्सव होइन, यो एक सकारात्मक सोच र जीवनका प्रति प्रेमको उत्सव हो ।
होलीको आफ्नै धार्मिक, ऐतिहासिक एवम् पौराणिक महत्त्व भए पनि वर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू भित्र्याएको छ । रङहरूको प्रयोग गर्दा स्वास्थ्यको ख्याल राख्न आवश्यक छ । रासायनिक रङहरूले शरीर र वातावरणमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले, जैविक र प्राकृतिक रङहरूको प्रयोगमा ध्यान दिनु जरुरी छ । साथै, होलीको मस्तीमा सीमित नगरी, सबैको सुरक्षा र सम्मानको ख्याल राख्न पनि महत्त्वपूर्ण छ ।
होलीमा आजका युवाहरू इच्छा विपरीत रङ्ग दलिदिने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरू रक्सी, गाँजा, भाङ, खाएर मातिने जस्ता काम गर्ने गर्दछन् । जसलाई राम्रो मान्न सकिदैन् । समग्रमा, होली भनेको खुसी, प्रेम र एकता को पर्व हो । यो पर्वले मानिसहरूलाई सामाजिक समृद्धि र पारस्परिक समझदारीमा पनि जोड्ने भएकाले यसको महत्त्व अझ विशेष रहेको छ ।

















