कैलालीको अत्तरियामा २०६७ सालदेखि दुग्ध विकास संस्थान (डीडीसी) ले सेवा दिँदै आइरहेको छ । तत्कालीन समयमा किसानहरूबाट दूध सङ्कलन गरी बिक्रिवितरण गर्ने कार्य गर्दै आइरहेकोमा पछिल्लो समय त्यसलाई वृहत् बनाउँदै दूधबाट बन्ने दुग्धजन्य पदार्थहरू पनि उत्पादनमा डीडीसी लागेको छ । हाल डीडीसीले आई क्रिम, जिरा मही लगायतका अन्य उत्पादनहरू पनि सुरु गरिसकेको छ । डीडीसीले हाल कैलाली सहित कञ्चनपुर र डडेलधुराको आलितालका गरी करिब ६ हजार किसानको दूध सङ्कलन गर्दै आएको छ । यस्तै उत्पादित दुग्धजन्य पदार्थ दिपायल, डडेल्धुरा, अत्तरिया, धनगढी, टीकापुर लगायतका क्षेत्रमा बिक्री गर्दै आएको छ । हाल डीडीसी अत्तरियामा प्रत्यक्ष रूपमा ३० जना (१६ जना करार, १४ जना स्थायी) ले रोजगारी पाएका छन् ।
पछिल्लो समय दूधको खपत गर्न समस्या हुन थालेपछि सरकारले सुदूरपश्चिममा पाउडर दूध उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना अघि सारेको छ । डीडीसी मातहतमा सञ्चालन गर्ने तयारी गरिएको उक्त उद्योगका लागि अत्तरियामा जग्गा उपलब्ध नभएपछि डीडीसीको कार्यालय सहित कारखाना पनि धनगढी सार्ने तयारी गरिएको थियो ।

तर, अत्तरियामै जग्गा खोजेर डीडीसीलाई राख्ने र पाउडर उद्योग निर्माण गर्ने भन्दै पुस १६ गते बसेको सरोकारवालाहरूको बैठकले एउटा समिति गठन गरेको थियो । जसले अत्तरिया क्षेत्रमा डीडीसीका लागि जग्गाको जोहो गर्ने बताइएको थियो । तर, यो बिचको समयावधिमा पनि त्यो समितिले काम भने गरेको देखिएन । जग्गाको जोहो गर्ने विषयमा समिति गठन गरिएको भए पनि सो समिति मौन बस्दा डीडीसी धनगढी जाने सम्भावना बढ्दै गएको छ । धनगढीमा कार्यालय तथा उद्योग स्थापनाका लागि जग्गा उपलब्ध रहेको अवस्थामा अत्तरिया क्षेत्रमा जग्गा खोज्ने कार्यमै ढिलाइ भइरहेको छ ।

पाउडर दूध उत्पादन गर्ने उद्योग स्थापनाका लागि हाल नेपाल सरकारको विशेष अनुदानमा प्रदेश सरकारले काम अगाडि बढाएको छ । ४० करोडको उक्त योजनाका लागि हाल १२ करोड विनियोजन गरिएको छ । सो बजेटबाट पाउडर उद्योग सञ्चालन गर्ने र त्यसका लागि जमिनको खोजी गर्ने भनिए पनि समितिले लापरबाही गर्दा हालसम्म जमिनको टुङ्गो लाग्न सकेको अवस्था छैन ।
अहिले डीडीसी अत्तरियामा रहेको कृषि उपज थोक बजारलाई मासिक २५ हजार ६८० रुपैयाँ भाडा तिरेर सञ्चालनमा रहेको छ । अत्तरियामा डीडीसीको कार्यालय र कारखाना सञ्चालन गर्न ठाउँ अभाव भएको भन्दै धनगढीमा सार्ने तयारी गरिएको थियो । धनगढी सार्ने तयारी गरिएपछि पुस १५ गते स्थानीयले विरोध जनाउँदै सार्ने प्रक्रिया रोक्न डीडीसीलाई आग्रह गरेका थिए ।
त्यसको भोलिपल्ट गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट सहितको स्थानीय राजनीति दल र समाजसेवीको भेलाले जग्गा खोज्न कार्यदल गठन गरेको थियो । वडाध्यक्ष गोपाल दत्त भट्टको अध्यक्षतामा १४ सदस्यीय कार्यदल गठन गरिएको भए पनि उक्त समिति पछिल्लो समय सुस्ताएको छ ।
अत्तरियामा ठाउँ कम भएका कारण सर्नुपर्ने बाध्यता डीडीसीलाई छ । हाल जग्गा यतै उपलब्ध गराउने भनिए पनि काम नहुँदा झन् अन्यौलता सृजना भएको छ । डीडीसीले गोदावरी नगर क्षेत्रका किसाहरुलाई मात्रै नभई यो क्षेत्रबाट काम गरिरहेको व्यक्तिहरूलाई पनि सहजता प्रदान गरेको छ । तसर्थ डीडीसीको जग्गा खोजी गर्ने प्रक्रिया तत्काल अघि बढाइनुपर्दछ । उद्योग सञ्चालनमा अन्यौलता सृजना गरिनु कुनै पनि हालतमा उपयुक्त होइन ।
















