धनगढी– कैलालीका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरुले जिल्लाको स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरुका बारेमा सहसचिव डा. प्रकाश बुढाथोकीको ध्यानाकर्षण गराएका छन ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. खगेन्द्र बममार्फत जिल्लाका १३ वटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. बुढाथोकीको ध्यानाकर्षण गराएका हुन ।स्वास्थ्य क्षेत्रमा सङ्घीय सरकारले तत्काल समन्वय एवं समाधान गरिनुपर्ने कामका बारेमा जानकारी गराईएको बताईएको छ ।

जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा स्थलगत अनुगमन गर्न धनगढी पुगेका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. बुढाथोकीले धनगढी उपमहानगरपालिकाद्वारा हरेक वडामा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ तथा नसर्ने रोगको ‘स्क्रिनिङ’का अनुगमन समेत गरेका थिए ।
सोही अवसरमा बुढाथोकीले कारागार कार्यालय कैलालीमा रहेका कैदीबन्दीलाई प्रदान भइराखेको स्वास्थ्य सेवाका बारेमा समेत जानकारी लिएका थिए ।
















