कैलालीको गोदावरी धामलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख मध्येको एक धार्मिक पर्यटकीय क्षेत्रका रूपमा लिइन्छ । यो एक प्रसिद्ध हिन्दु तीर्थस्थल हो, जुन गोदावरी नगरपालिकामा अवस्थित छ । यो स्थल धार्मिक महत्वका साथसाथै प्राकृतिक सौन्दर्यको लागि पनि प्रख्यात छ । प्रदेशकै धेरै दर्शनार्थी पुग्ने धार्मिक स्थलका रूपमा समेत यसलाई लिन सकिन्छ । २०७२ सालमा गोदावरीमा महाकुम्भ मेला लागेयत यसको प्रचारप्रसार राम्रै भएको छ । विभिन्न धार्मिक पर्वहरूमा यो धाममा मानिसहरू पुग्ने गरेका छन् । बुधवार महाशिवरात्रिको अवसरमा पनि गोदावरी धाममा मानिसहरूको भिड लागको थियो । महाशिवरात्रिका अवसरमा धाममा रहेको शिवालयमा धर्मावलम्बीहरूले दर्शन गरेर पूजाआजा गरेका थिए ।
महाशिवरात्रि हिन्दु धर्मको एक महत्त्वपूर्ण पर्व हो, जुन भगवान् शिवको पूजा र उपासना गर्ने दिनको रूपमा मनाइन्छ । महाशिवरात्रिको अवसरमा शिवलिङ्गको पूजा गरिन्छ । धार्मिक दृष्टिकोणले महाशिवरात्रि भगवान् शिवको आराधना र आशीर्वाद प्राप्त गर्ने अवसर हो । यो पर्व साधकहरूको आत्मिक उन्नति र शुद्धताको प्रतीक मानिन्छ ।


धाममा गोदावरीका मात्रै नभई विभिन्न स्थानहरूबाट दर्शनका लागि धर्मावलम्बीहरू आउने गर्दछन् । तर गोदावरी धाम भित्रको मुख्य शिवालय भने हालसम्म ओझेलमा पर्दै आएको छ । गोदावरीमा आफू खुसी पछिल्लो समय धमाधम मन्दिर लगायतका भौतिक संरचना निर्माण गरिएका भए पनि द्वापर युगदेखि नै प्रचलनमा रहेको मुख्य शिवालय भने अझै ओझेलमा परेको छ ।
द्वापर युगमा पाण्डवहरू वनविहार गर्दै सो शिवालय तुलस्थान जस्तो सानो बनाएको अवशेष (पत्थरहरू) अहिले पनि रहेको पुजारीहरूले बताउने गरेका छन् । पुजारीहरूका अनुसार त्यसपश्चात् सो शिवालयलाई विसं २०२६ सालमा भारतको पलियाका सेवा गिरी महाराजले पुनर्निर्माण गरेका थिए । जुन हाल निकै साँघुरो बन्दै गएको छ । जसका कारण सो क्षेत्रमा पूजाआजाका लागि समस्या हुने गरेको छ ।
धामभित्रको मुख्य शिवालय ओझेलमा परिरहदा पछिल्लो समय गोदावरी नगर क्षेत्रका बासिन्दाहरु पनि महाशिवरात्रिको अवसरमा अन्य स्थानहरूमा दर्शन तथा पूजापाठका लागि जाने गरेका छन । नजिकै रहेको मुख्य शिवालयको स्तरोन्नति गरी त्यसको संवद्र्धनमा ध्यान दिन कुनै पनि निकाय अग्रसर बनेको छैन । नजिकको तीर्थ हेला भनेझैँ नजिकै ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको शिवालय हुँदा पनि कसैले महत्व दिएका छैनन् । कुनै समय शिवरात्रिका अवसरमा मेला लाग्ने गरेको भए पनि कुनै निकायले ध्यान नदिँदा अहिले सो क्षेत्रमा निकै कम मात्रामा दर्शनार्थीहरु आउने गरेका छन् ।
प्रचार प्रसारको अभावका कारण नभई पूर्वाधार निर्माण तथा व्यवस्थापनका कारण शिवरात्रिमा दर्शनार्थीहरु कम हुँदै गइरहेको अवस्था हो । त्यसैले गोदावरी धामको चौतर्फी विकासका लागि सो क्षेत्रमा भएका ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको मठमन्दिरहरूको पुर्नताजगी गर्न जरुरी छ । त्यसका लागि स्थानीय सरकारले मुख्य रूपमा अग्रसर हुनुपर्दछ । पालिकालाई चिनाउन मुख्य भूमिका निर्वाह गरिरहेको धामभित्रका पुरातात्विक महत्व बोकेका मठमन्दिरहरूको मर्मत, संरक्षण, संवद्र्धन गर्ने कुरामा स्थानीय सरकारले पहलकदमी गर्न आवश्यक देखिन्छ ।
















