अत्तरिया – कैलालीको गोदावरीमा यस क्षेत्रका पर्यटकीय क्षेत्र चिनाउँदै लिग आयोजना गरिदैं छ । गोदावरीका ८ वटा पर्यटकीय क्षेत्र चिनाउँदै न्यू सृर्जनसिल युवा क्लब (सीवाइसी) स्पोर्ट लिगको आयोजना गर्न लागेको हो । फागुन १९ गते देखि आयोजना हुने लिगमा गोदावरीका पर्यटकीय क्षेत्रको नामका टिम बनाएर प्रतिस्पर्धा गराइँदै छ । क्लबका अध्यक्ष नर बहादुर राईले यस क्षेत्रका पर्यटकीय क्षेत्र चिनाउने गरी टिमका नाम राखेर प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
जसअन्तर्गत सीवाइसी गोदावरी धाम, सीवाइसी हाटखोली–गाजरी, सीवाइसी बुढितोला पोइन्ट, सीवाइसी लामिताल, सीवाइसी नायल ताल, सीवाइसी मछेली खोला, दोगडा फुलबस्ती र सीवाइसी भल्का धाम रहेका छन् । उनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने गरी टिमको नामाकरण गरिएको बताए ।

‘यसअघि हामीले राखेका टिमका नाममा साखै अर्थ थिएन’ उनले भने ‘अहिले हामीले गोदावरी क्षेत्रका पर्यटकीय स्थललाई समेटेर नाम बनाएका छौ । जसले गर्दा खेल खेल्दै गर्दा मानिसहरूले सोध्यो भने पनि सीवाईसी गाजरी कहाँ पर्छ भन्यो भने हामीले त्यसको बारेमा पनि जानकारी दिने माहौल बन्छ ।’

लिग अन्तर क्रिकेट, पेनाल्टी फुटबल र भलिबल खेल खेलाइने जनाइएको छ । प्रतियोगितामा हरेक उमेर समूहका खेलाडीले सहभागी हुन पाउने छन् । हरेक टिममा कम्तीमा ४ जना भेट्रान समूहको अनिवार्य गरिएको अध्यक्ष राईले बताए । ‘हामीले सबैलाई समेट्ने तरिकाले विभिन्न पेसामा लागेका खेलकुदलाई माया गर्ने, विभिन्न पेसामा आबद्ध, क्लबका सदस्य सहभागी गराइने छ’ उनले भने ‘यसमा सबै उमेर समूह समेटिने छन् ।’
चौथो संस्करणको रूपमा केही खेल थप गरी लिगको आयोजना गरिएको क्लबका उपाध्यक्ष शर्मानन्द भट्टले बताए । उनले प्रतियोगितामा सबै उमेर समूहका खेलाडी संयुक्त रूपमा खेलाइने भएकाले अनुभव आदानप्रदानमा पनि सहयोग पुग्ने बताए ।
खेल संयोजक रजत शाहीले प्रतियोगिता सम्पन्न गर्नको लागि खेलाडीको नाम टुङ्गो लगाइसकेको बताए । उनले क्लबमा आबद्ध भएका र गोदावरी क्षेत्रमा विभिन्न सामाजिक क्षेत्रमा जोडिएकाहरूलाई प्रतियोगितामा सहभागी गराइएको बताए । ‘सीवाइसी वार्षिक खेलकुद उत्सव’ का रूपमा आयोजना गरिएको प्रतियोगितामा २ लाख पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ । प्रतियोगिता चैत १ गते सम्पन्न हुने छ । प्रतियोगिताका खेल गोदावरी नगरपालिका –३ र गोदावरी – मा रहेको सिवाइसीको खेल मैदानमा आयोजना गरिने जनाइएको छ ।
२०५४ सालमा स्थापना भएको सीवाइसी हालै धनगढीमा सम्पन्न अर्जुन ट्रफिको विजेता टिम पनि हो । यो क्लबले देशकै विभिन्न लिगहरूमा सहभागिता जनाउनुका साथै विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । यस क्लबले २०६७ देखि २०७१ सम्म अत्तरियामा संस्कृति महोत्सव आयोजना गरेको थियो ।

















