कञ्चनपुर – भारतको उत्तराखण्ड प्रदेशका पर्यटन, सांस्कृतिक एवं सिँचाई मन्त्री सतपाल महाराज महेन्द्रनगरमा पुगेका छन् । महेन्द्रनगरस्थित खुला मञ्चमा आजदेखि सुरु हुने प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सहभागी हुन मन्त्री महाराज महेन्द्रनगरमा पुगेका हुन ।
मन्त्री महाराज आउने तय भए पछि कञ्चनपुरमा क्रियाशील विद्यार्थी संघठनले भने विरोध जनाएका थिए । विद्यार्थीहरूले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भारतीय मन्त्रीलाई निम्त्याइएकोप्रति गम्भीर आपत्ति जनाएका थिए ।


मन्त्री महाराज पटक–पटक नेपाल र नेपालीको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानमाथि आघात पुग्ने अभिव्यक्ति दिँदै आएका व्यक्ति भएको विद्यार्थी सङ्गठनहरूको दाबी छ । आयोजनले मन्त्री महाराजलाई महोत्सवको उद्घाटन सत्रमा विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेको छ । महोत्सवको उद्घाटन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित महोत्सव १० दिनसम्म सञ्चालन हुने छ । सोह्रौँ संस्करणको रूपमा आयोजना हुन लागेको उक्त महोत्सवको मुख्य नारा ‘कृषि, उत्पादन र स्वरोजगार; आर्थिक समृद्धिको आधार’ रहेको छ ।
विद्यार्थी संगठनहरुले निकालेको प्रेस विज्ञप्ती



















