यो प्रविधिको जमाना हो । विश्वका धनी देशहरूले प्रविधिकै कारण अर्थव्यवस्थामा फड्को मारेका छन् । प्रविधिको उचित र सही प्रयोगका कारण मानव जीवनलाई सहज रूपमा अघि बढाउन सकिने खालका संयन्त्रहरू तयार गर्न सकिन्छ । जसले कम जनशक्तिबाट पनि बढी काम गर्न र गुणस्तरीय काम गर्न मद्दत गर्ने गर्दछ ।
प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो । धेरै मानिसहरू प्रविधि र अभियान्त्रिकी शब्दहरूलाई पर्यायवाचीको रूपमा प्रयोग गर्दछन् । आदि कालदेखि नै मानवले प्रविधिको प्रयोग गर्दै आएको हो । आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठुलो योगदान छ । जो समाज अथवा राष्ट्र प्राविधिक रूपले शक्तिशाली छन् तिनीहरू नै सामरिक रूपमा शक्तिशाली हुन्छन् अनि आर्थिक रूपमा अरू भन्दा सक्षम छन् ।


प्रविधि आजको समयको अभिन्न हिस्सा बनेको छ । प्रविधिले कामलाई छिटो र अधिक दक्षतासाथ गर्न मद्दत पु¥याउँछ । कम्प्युटर, सफ्टवेयर, र अटोमेशन जस्ता प्रविधिहरूले कामको गति र गुणस्तरमा सुधार ल्याउँछन् । यसले समयको बचत र उत्पादनशीलता बढाउँछ । त्यति मात्रै नभई जानकारीलाई सजिलैसँग प्राप्त गर्न पनि प्रविधिले सम्भव बनाएको छ । इन्टरनेट र स्मार्ट डिभाइसहरूको मद्दतले कुनै पनि जानकारी, समाचार र ज्ञान छिटो प्राप्त गर्ने माध्यम प्रविधि बनेको छ । यसले शिक्षा र अनुसन्धानलाई नयाँ दिशा दिएको छ । सूचना आदान प्रदान, डिजिटल मार्केटिङ, स्वास्थ्य क्षेत्र लगायतमा पनि अहिलेको प्रविधिको आवश्यकता महत्त्वपूर्ण देखिएको छ ।
प्रविधिलाई आधुनिक युगको एउटा अभिन्न अंगको रूपमा लिने गरिएको भए पनि प्रविधिको प्रवद्र्धन गर्ने तिर भने खासै ध्यान दिएको पाइँदैन । पछिल्लो केही समययता कैलालीको गोदावरीका विद्यालयहरूमा स्टिम (साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट एन्ड म्याथ) कक्षाहरू सञ्चालन हुने गरेका छन् । इन्टरनेटको विकास र आईसीटीे प्रयोगसँगै स्टिम एजुकेसनको अवधारणा आएपछि यहाँका विद्यालयहरूले स्टिम शिक्षालाई पनि महत्वका साथ हेर्न थालेका छन् । सोही शिक्षाका माध्यमबाट केही नौलो कुरा सिकिरहेका विद्यार्थीहरू आर्थिक अभावका कारण पछि परिरहेका छन् । यहाँका केही विद्यार्थीहरूले आफैले बनाएका प्रविधिहरूको प्रदर्शन समेत गरिसकेका छन् ।
उनीहरूको अवधारणा सफल समेत भएका छन् । तर ती अवधारणाहरूले आर्थिक अभावकै कारण मूर्त रूप भने पाउन सकेका छैनन् । त्यस्ता विद्यार्थीहरूका आविष्कारहरूको पूर्णताका लागि स्थानियस्तरबाट पनि आर्थिक जोहो हुन सके, भविष्यमा सो विद्यार्थी वैज्ञानिक बन्न सक्छ ।

प्रविधिको आवश्यकतालाई महसुस गरेर विद्यार्थीहरूको आविष्कारहरूलाई अघि बढाउनमा स्थानियस्तरबाट पनि सहयोगहरू जुट्नुपर्दछ । त्यसो हुन सक्यो भने स्थानियस्तरमै सामान्य घरायसी कामका लागि समेत प्रविधिको सहज प्रयोग गर्न सकिने अवस्था आउनेछ । तसर्थ प्रविधिको जमानामा प्रविधिलाई आत्मसाथ गर्दै समय सुहाउँदो शिक्षाका लागि बालबालिकाहरूलाई प्रोत्साहन गर्ने कुरामा सबैले सहकार्य गर्न आवश्यक छ ।