धनगढी – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बोस्टन एकेडेमी झापामाथि डीसीए धनगढीले पाँच रनले हराएको छ ।

मंगलबार फाप्ला मैदानमा भएको दिनको दोस्रो खेलमा डीसीए धनगढीले पाँच रनको रोमाञ्चक जित हात पारेको हो । एक सय ४४ रनको लक्ष्य पछ्याएको झापाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन मात्रै बनाउनसक्यो ।

उसका लागि दिपु भुजेलले ३८, अरुण ऐरी र रोहन बिकले समान २६–२६ तथा रमेश भट्टले २५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । धनगढीका राहुल भण्डारी र नारायण जोशीले समान दुई–दुई तथा भोजराज भट्टले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको धनगढीले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । धनगढीका लागि लोकेश बमले ३६ बलमा ५७ रन बनाए । उनी खेलका म्यान अफ द म्याच भए । अमित श्रेष्ठले २५ तथा मिलन बोहराले १८ रन बनाए । झापाका पवन कार्की, अविशेक कार्की र रोशन शाहले समान दुई–दुई तथा रुशिल रिमालले एक विकेट लिए ।