धनगढी – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाईसी अत्तरियाले लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंलाई ८६ रनको फराकिलो अन्तरले हराउँदै अत्तरियाले सेमिफाईनलको सम्भावना बलियो बनाएको हो ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ८ विकेट क्षतिमा एक सय ४२ रन बनायो । सुरुवाती ब्याट्सम्यानहरु सस्तोमा पेलिभियन फर्किदा चौथो विकेटको रुपमा मैदान छिरेका विवेक यादवले अर्धशतकीय पारी खेले । १६ रनमा क्याच आउट छुटेपछि पाएको जीवनदानलाई विवेकीय रुपमा खेल्दै ३५ बलमा ५३ रन बनाए । चार छक्का चार चौका प्रहार गरेका उनी अविजित रहे ।

११.१ ओभरमा ६ विकेट क्षतिमा ५६ रनको स्थितिलाई सुधार गर्दै एक सय ४२ रनसम्म पुराए । अत्तरियाका लागि कप्तान सन्तोष कार्कीले २३ रन बनाए । यस्तै सन्दीप क्षेत्रीले १६ रन र शंकर रानाले १४ रन बनाए । क्रिकेट एक्सीलेन्स सेन्टरका लागि युनिष ठकुरी र दिपेन्द्र रावतले दुई दुई विकेट लिए । सुर्य तामाङ, नितेश यादव र विपिन आचार्यले एक एक विकेट लिए ।

एक सय ४३ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंले १२.२ ओभरमा ९ विकेट क्षतिमा ५६ रन मात्रै बनायो । सिईसीका विपिन आचार्य ११.२ ओभरमा १३ बलमा ११ रन बनाएर चोट बोकेपछि रिटायर्ड हट हुँदा सीवाईसी अत्तरिया विजयी भएको हो । सिईसीका लागि सोनु अन्सारीले सर्वाधिक १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् ।
पाँच जना खेलाडी शुन्यमा आउट भए । अत्तरियालाई सानदार जित दर्ता गराउने क्रममा कमल गुप्ताले ५ विकेट लिए । उनी प्रतियोगितामा ५ विकेट लिने पहिलो खेलाडी भएका छन् । ३.२ ओभर बलिङ गरेका उनले १० रन खर्चिए । दिपेश कँडेलले २ विकेट हात पार्दा साहव आलम र सुसिल साउँदले एक एक विकेट लिए । खेलमा ५ विकेट लिएका सिवाईसीका कमल गुप्ता नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।