धनगढी – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डीसीए धनगढीले फराकिलो जित हात पारेको छ । आइतबार फाप्ला मैदानमा भएको खेलमा धनगढीले घोडाघोडी–११ लाई ६९ रनले पराजित गरेको हो ।
१५० रनको लक्ष्य पछ्याएको घोडाघोडी १६.५ ओभरमै अलआउट हुँदै ८० रनमा सीमित भयो । टेक रावतले १८ र दीपक टमाट्टाले १३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । धनगढीका ललित राजवंशीले तीन विकेट लिँदै ‘म्यान अफ द म्याच’ बने, भने मिलन बोहोरा र राहु भण्डारीले समान दुई–दुई विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाएर १४९ रनको सम्मानजनक स्कोर खडा ग¥यो । राजु रिजालले ३७, लोकेश बमले ३१, अभिषेक पालले २८, र कप्तान नारायण जोशीले १९ रन बनाए । घोडाघोडीका धर्मराज जोशीले तीन विकेट लिए भने नरेन साउँदले दुई विकेट हात पारे ।

आइतबारको पहिलो खेलमा सिवाइसी अत्तरियाले दशरथ चन्द एकेडेमीलाई पराजित गरेको थियो ।
प्रतियोगिता अन्तरगत सोमबार फेण्ड्स क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा, साथै सिवाइसी अत्तरिया र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघको क्यालेण्डरमा समावेश यो प्रतियोगिता माघ २८ गतेसम्म चल्नेछ, जसको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कारसहित ट्रफी हात पार्नेछन्। प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।