भैरहवा – जथाभावी छाडा चौपाया छोड्ने पशुधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन शुरु गरेको छ।

छाडा चौपाया नियन्त्रण र व्यवस्थापन अभियान शुरु गरेको नगरपालिकाले पशुधनीलाई पहिलोपटकमा सात हजार जरिवाना तिराएको हो। नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गत हप्तादेखि अभियान सञ्चालन गरिरहेको छ। अभियानअन्तर्गत हालसम्म ७८ वटा गाईगोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला)ले जानकारी दिए।

‘छाडा चौपाया आफ्नो भनी दाबी गर्न आउनुभएका दुईजनालाई रु. सात हजारका दरले जरिवाना गरेर गाई जिम्मा लगाएका छौँ’‚ यादवले भने, ‘छाडा चौपाया नियन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णयबमोजिम पहिलोपटकलाई सात हजार जरिवाना गराई फेरि छाडा नछोड्ने शर्तमा पशुधनीलाई जिम्मा लगाइएको हो।’
गतवर्ष नवलपरासीको गौशालामा चौपाया व्यवस्थापन गरेको नगरपालिकाले हाल कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा रहेको गौशालामा चौपाया व्यवस्थापन गर्न थालेको छ।