काठमाण्डौ– अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल यु–१९ महिला विश्वकपबाट बाहिरिएको छ । बुधबार अष्ट्रेलियासँग भएको खेलमा ८३ रनले पराजित भएपछि नेपाल औपचारीक रुपमै विश्वकपबाट बाहिर भएको हो ।

नेपालले यू–१९ महिला विश्वकपको पहिलो सहभागितामा तीनवटै खेलमा पराजय बेहो¥यो । नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः बंगलादेशसँग ५ विकेट तथा स्कटल्याण्डविरुद्ध एक विकेटको हार बेहोरेको थियो । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान पूजा महतोले ४२ बलमा सर्वाधिक १८ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । अस्ट्रेलियाका लागि जुलिएट मोर्टनले ४ ओभरमा एक मेडनसहित १० रन दिएर सर्वाधिक दुई विकेट लिइन् ।
त्यसअघि मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनायो । उसका लागि काओइमहे ब्रायले ४५, एलेनोर लारोसाले ३१, हसरत गिलले ३० र क्लोए आइन्सवर्थले १६ रन जोडिन् । नेपालका लागि कप्तान पूजा महतोले चार ओभरमा ३१ रन दिएर तीन विकेट लिइन् । यस्तै, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट लिइन् ।
















