खाेज्नुहाेस

यू १९ विश्वकप क्रिकेटमा नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित

Image

काठमाडौँ– आईसीसी यू१९ टी२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित भएको छ। मलेसियाको बाङ्गीमा रहेको यूकेएम ओभल क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बांग्लादेश १३.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो।

बांग्लादेशका लागि सादिया इस्लामले २४ बलमा १ चौकाको सहयोगमा १६ रन बनाइन्। सुमैया अत्तरले १२ र अफिया अशिमा इराले ९ रन जोडिन्। बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान १/१ विकेट लिए।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो। नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन बनाइन्। त्यस्तै, सिमाना केसीले १० रनको योगदान दिइन्। अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कप्तान पूजा महतो २ रनमा आउट भइन भने अलिशा यादवले ४ रन बनाइन्। यसैगरी तिर्सना विक र रचना चौधरीले समान ३/३ रन बनाउँदा रिया शर्मा ५ रनमा नटआउट रहिन्।

बांग्लादेशका लागि जनाथन माओलाले २ विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १/१ विकेट लिए। नेपालले आफ्नो दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ।

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्ती एउटा खेल जित्नुपर्छ। यो समूहमा नेपालसँगै बांग्लादेश, स्कटल्यान्ड र अस्ट्रेलिया छन्। शनिबार नै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई ९ विकेटले पराजित गरेको छ।