अत्तरिया – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले सकेसम्म चालु आर्थिक वर्ष भित्रै गेटामा ३ सय शय्याको अस्पताल सहित एमबिबिएस पढाइए सुरु गर्ने गरी तयारी गरिरहेको बताएका छन् । मंगलबार गेटा अस्पतालको अवलोकन गर्दै उनले गेटामा ३ सय शय्याको अस्पताल ३ वर्ष नचलेको भए पनि विशिष्ट अवस्थाका कारण चिकित्सा शिक्षा आयोगले एमबिबिएस पठाउन सक्ने निर्णय गर्न सक्ने बताए ।
‘छ वटा प्रदेशमा एमबिबिएसको पढाई भइसकेको छ । यो एउटा प्रदेश मात्रै बाँकी हो । त्यसैले यो अवस्थाका कारणले ३ सय बेड ३ वर्ष नचले पनि विशिष्ट अवस्थाका कारणले गेटामा अहिले नै एमबिबिएस पढाइए गरिएको छ भनेर चिकित्सा शिक्षा आयोगले निर्णय गर्न सक्छ’ उनले भने ‘यहाँ विशिष्ट अवस्था भएका कारणले ३ सय बेडको अस्पताल ३ वर्ष चलिरहनु पर्दैन ।’ उनले चिकित्सा शिक्षा आयोगबाट निर्णय गरेर यही असारमा एमबिबिएस भर्ना गर्नु पर्छ भनेर आफू लागेको बताए ।


उनले गेटामा असार सम्म ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेर ओएनएम गरिएको बताए । उनले अहिले नै ३ सय शय्याको अस्पताल सञ्चालनको लागि ६०/६५ करोड लाग्ने भएकाले त्यो रकम जुटाउन सक्ने अवस्था भने नभएको बताए । उनले भने ‘हाम्रो टार्गेट असार सम्म ३ सय बेडको हो । त्यो सक्दै सकिएन भने १ सय बेडको त जसरी पनि बनाउँन्छौ । सकेसम्म ३ सय बेडको सञ्चालन गर्छौ ।’
उनले अस्पताल सञ्चालन र एमबिबिएसको पढाइ सञ्चालन गर्दैमा विश्वविद्यालय बनाउने काम नरोकिने बताए । ‘अहिले विश्वविद्यालय बनेपछि विश्वविद्यालय ले नै अस्पताल, एमबिबिएस पढाइ सुरु गरिहाल्छ भन्ने कुरा पनि सुनिन्छ’ उनले भने ‘पहिला जे हुन्छ त्यो गर्दै जाऊ, पहिला अस्पताल चलाउन मिल्छ, पहिला एमबिबिएस कार्यक्रम सञ्चालन गर्न मिल्छ । त्यही चलेको अस्पताल र एमबिबिएस कार्यक्रममा विश्वविद्यालय भित्र राख्न मिल्छ ।’ उनले स्वास्थ्य मन्त्रालयबाट अस्पताल, एमबिबिएस कार्यक्रम सञ्चालन गरेर शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्न आफूहरू तयार रहेको बताए ।
उनले काठमाण्डौं फर्केपछि तत्काल १०–१२ जना स्कलरसिपका डाक्टर पठाउने बताए । ‘नियमावली परिवर्तन गर्नुपर्छ भने पनि नियमावली परिवर्तन गरेर हामी डाक्टर पठाउँन्छौ । १५–२० जना स्कलरसिप कै नर्स पनि पठाउँन्छौ’ उनले भने ‘त्यसपछि यहाँ २४ घण्टा इमर्जेन्सी सञ्चालन गर्नुहोला ।’ उनले इमर्जेन्सी सञ्चालन भएपछि मात्रै अस्पतालमा बिरामीको चाप बढ्ने बताए ।
















