धनगढी – सुदूरपश्चिम प्रदेशमा निःशुल्क रक्त सेवा सुरु भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सेती प्रादेशिक अस्पतालमा उपचारत निर्मल चौधरीका आफन्त रोशन चौधरीलाई निःशुल्क रगत हस्तान्तण गर्दै उक्त सेवाको सुरुवात गरेका हुन ।

यसअघि प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतका लागि आइतबार नै सम्झौता भएको सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा शाखा प्रमुख डा. चेतराज जोशीले बताए ।

उनले रेडक्रसले निःशुल्क रगत उपलब्ध गराएबापत सुदूरपश्चिम सरकारले एक हजार एक सय ५० रुपैयाँ प्रति पिन्ट रक्त सञ्चार केन्द्रलाई दिने सम्झौता गरिएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले मुख्यमन्त्री पदको पदभार ग्रहण गर्दै प्रदेशभर निःशुल्क रगत व्यवस्था गर्ने निर्णय गरेका थिए । सोही निर्णयको कार्यान्वयन गर्दै आइतबारबाट प्रदेशभरका सबै सरकारी अस्पतालमा निशुल्क रक्त सेवा सुरु गरिएको मुख्यमन्त्ती शाहले बताएका छन ।

















