खाेज्नुहाेस

कैलालीमा जलपन्छीको गणना गर्न सुरु

Image

धनगढी – तालतलैया, नदीनाला लगायतका सिमसार क्षेत्रमा पाइने जलपन्छीको गणना गर्न सुरु गरिएको छ । शनिबार कैलालीमा धनगढी उपमहानगरपालिका –७ स्थित जोखार तालबाट गणना गर्न सुरु गरिएको हो ।

नेपालमा सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक जलपन्छीको हरेक वर्ष जनवरी ४ देखि १९ तारेखसम्म (पुस २० देखि माघ ६ गतेसम्म) गणना हुने गर्दछ । गणनाबाट जलपन्छीको सङ्ख्या अद्यावधिक गर्ने तथा तिनको वितरण, अवस्थाबारे जानकारी लिने गरिन्छ ।

attariya hospital
navjiwan hospital

डिभिजन वन कार्यालय, चरा संरक्षण नेटवर्क, घोडाघोडी मञ्च, सामुदायिक वन उपभोक्ता समिति लगायतको सहभागितामा हिउँदे जलपन्छीको गणना भइरहेको छ ।

कैलालीकोे घोडाघोडी चरा अभयारण्य क्षेत्रमा रहेको घोडाघोडी सिमसार, नकरोड ताल, बसन्ता वन क्षेत्रमा रहेका रखौना, सोनियाँ रुपियाँ, घोरताल, पुरैना, जम्नेहटा, चम्रहिया, पुरैना, कोइलही लगायतको तालमा जलपन्छी गणना गरिने चरा संरक्षणकर्मी हिरुलाल डंगौराले जानकारी दिए ।

कैलाली, कञ्चनपुरमा रहेका तालतलैया, नदीनाला लगायतको सिमसार क्षेत्रहरू रैथाने र आगन्तुक जलपन्छीको उपस्थितिले यतिबेला गुलजार बनेका छन् । चराविदहरूको सहभागितामा दुई हप्तासम्म गणना गरिने बताइएको छ । गणनाको क्रममा पानी चराको प्रजाति, तिनको सङ्ख्या, सङ्कट र बासस्थानमा देखिएको समस्या लगायतको जानकारी अभिलेख गरिने बताइएको छ ।