अत्तरिया– कैलालीको अत्तरियामा रहेको गोदावरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैटौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष नैन सिँ कार्कीको सभापतित्वमा आयोजित एक कार्यक्रमका बिच संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका पुर्व सञ्चालक तथा संस्थापक लाल बहादुर द्धवाल प्रमुख अतिथि रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए । कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु तथा शेयरसदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव धर्म सिँ कुँवरले गरेका थिए ।


कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन कोषाध्यक्ष गणेश महराले प्रस्तुत गरेका थिए भने संस्थाको लेखा सुपरिवेक्षण प्रतिवेदन संस्थाका लेखा समिति संयोजक डिल्लीराज जोशीले प्रस्तुत गरेका थिए । कार्यक्रममा चालु आर्थिक वर्ष २०८१÷०८२ का निति तथा कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।
साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा संस्थाले विभिन्न क्षेत्रमा रहेर पुरस्कार वितरण गरेको थियो । संस्थाले केही फरक तरिकाले असल कृषक, सफल व्यवसायी, बालबचतकर्ता र उत्कृष्ट कर्मचारी विद्यामा पुरस्कार वितरण गरेको थियो । जसमा असल कृषकमा गोदावरी नगरपालिका– ४ का कृषक राज बहादुर बिष्ट, सफल व्यवसायीमा वडा नं. १ का अम्बादत्त भट्ट, बालबचतकर्तामा प्रान्जल बलायर र उत्कृष्ट कर्मचारीमा कार्यालय सहयोगी दुर्गा देवी रोस्यारा पुरस्कृत भएका थिए ।
८ लाख ७५ हजार शेयरपुँजीका साथ २०७५ सालमा स्थापना भएको संस्थामा हाल ४० लाख ३७ हजार ६ सय रुपैया शेयरपुँजी रहेको छ । संस्थाका शेयरसदस्यहरुको संख्यामा पनि वृद्धि भएको प्रतिवेदनले देखाएको छ । ३६ जना शेयरसदस्यबाट सुरु भएको सहकारीमा हाल ३७७ जना शेयरसदस्य रहेका छन ।
संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ५७ लाख ९४ हजार ७७४ रुपैया बराबरको कारोबार गरेकोमा ५५ हजार १३४ रुपैया संस्थाले खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाको बचत ९९ लाख ५१ हजार ९२५ रुपैया रहेको छ भने लगानी १ करोड ६ लाख ३७ हजार ३४५ रुपैया रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।













