खाेज्नुहाेस

पोखरालाई हराउँदै एक खेल अगावै प्लेअफमा पुग्यो सुदूरपश्चिम

Image

काठमाडौँ – सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको क्वालिफायरमा पुगेको छ ।

लिगको २७ औँ खेलमा पोखरा एभेन्जर्समाथि पाँच रनको रोमाञ्चक जित हासिल गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुगेको हो ।

attariya hospital

आज भएको खेलमा सुदूरपश्चिमले पोखरालाई ५ रनले हराएको छ । सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४९ रनमा अलआउट भयो ।

अन्तिम ओभरमा जितका लागि पोखरालाई ६ बलमा ८ रन आवश्यक रहँदा २ रन मात्र जोडेर ३ विकेट गुमाएपछि जित नजिक पुगेर पनि पराजित भयो । पोखरालाई अलआउट गर्न सुदूरपश्चिमका स्कट कुगेलेइनले अन्तिम ओभरमा ३ सहित कूल ५ विकेट लिए । कुगेलेइनले ३.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए ।

पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३६ रन बनाउँदा रेमोन रेइफरले ३३ र किरण ठगुन्नाले ३२ रन बनाए । सुदूरपश्चिमका लागि हर्मीत सिंहले पनि ३ विकेट लिए । ६ खेल खेल्दा पाँचौ जित हात पारेको सुदूरपश्चिम १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान १० अंक भएपनि जनकपुर बोल्ट्स नेटरनरेटमा पछि रहँदै दोस्रोमा झरेको छ ।

जितपछि सुदूरपश्चिमले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ । अब लिगको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णाली याक्ससँग खेल्नेछ । अहिलेसम्म जनकपुरसँगै सुदूरपश्चिम र चितवन राइनोज तीन टिमले प्लेअफमा स्थान निश्चित गरेका छन् ।

सोमबारको अन्तिम लिग खेलपछि प्लेअफ पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ । कर्णालीले सुदूरपश्चिम विरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ । सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग ५३ रन भन्दा बढी अन्तरले हारेमा भने काठमान्डुले नेट रनरेटमा कर्णालीलाई पछि पार्दै चौथो हुँदै प्लेअफमा पुग्नेछ ।