काठमाडौँ- जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । जनकपुरले लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान बनाएको हो ।
त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा जनकपुरले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हरायो । जितसँगै ६ खेलबाट १० अङ्क बनाएको जनकपुर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सको पाँच खेलबाट ८ अङ्क छ । जनकपुरसँग पराजित काठमाडौँको ५ खेलबाट ४ अङ्क छ । काठमाडौँको प्लेअफ पुग्ने सम्भावना कायम छ ।

जितका लागि १०२ रनको सामान्य लक्ष्य पाएको जनकपुरले १५.५ ओभरमा ५ विकेटको क्षतिमा १०४ रन जोड्दै लक्ष्य भेट्टाएको हो । जनकपुरका लागि जेम्स निसमले २७ रन बनाए । यस्तै हर्ष थाकरले अविजित २५, ओपनर लाहिरु मिलान्थाले १६, मोहमद मोसिनले अविजित अविजित १३ र कप्तान अनिल शाहले ११ रन बनाए ।
बलिङमा काठमाडौँका करण केसीले २ तथा शाहब आलम, दीपेश कडेल र जेरार्ड इरसमसले १-१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.३ ओभरका सबै विकेटको क्षतिमा १०१ रन बनाएको थियो । काठमाडौँका लागि जेराल्ड इरसमसले सर्वाधिक २० रन बनाए । कप्तान करण केसीले १९ र स्टेफन स्किनजीले १७ रन बनाए ।
काठमाडौँलाई सस्तैमा समेट्न जनकपुरका ललित राजवंशी र शेर मल्लले ३-३ विकेट लिए । मोहमद मोसिमले २ तथा किशोर महतो र अरनिको यादवले १-१ विकेट झारे । जनकपुरले अब लिगको अन्तिम खेल शनिबार चितवन राइनोजसँग खेल्नेछ । काठमाडौँले पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ ।



















