काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गुर्खाजले दोस्रो जित हात पारेको छ । आज भएको खेलमा काठमाडौँले लुम्बिनी लायन्सलाई १८ रनले हरायो ।
काठमाडौँले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर २ बलमा ८५ रनमा अलआउट भयो । लुम्बिनीका सन्दीप जोराले सबैभन्दा धेरै २६ रन बनाए । काठमाडौँका कप्तान करण केसीले ४, दिपेश कँडेलले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँ १९ ओभर २ बलमा १ सय ३ रनमा अलआउट भयो । काठमाडौँका भीम सार्कीले ३१ रन बनाए । लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।
यो जितसँगै काठमाडौँले ४ खेलमा ४ अङ्क जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । काठमाडौँ प्लेअफ पुग्ने सम्भावना कायमै छ । लुम्बिनी भने एक खेलअघि नै लिग चरणबाट बाहिरिएको छ । लुम्बिनीले ६ खेल खेल्दा जम्मा २ अङ्क जोडेको छ ।



















