काठमाडौं – नेपाल र चीनबीच मंगलबार चीनको बेइजिङमा ९ वटा समझदारीपत्र तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
चारदिने चीन भ्रमणमा क्रममा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको बेइजिङबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । ‘नेपाल र चीनविचमा आज ९ वटा समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ’ उनले भने ।

द्विपक्षीय बैठकमा खासगरी कनेक्टीभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, मेडिकल कोअपरेसन, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, विपद् व्यवस्थापन, जनता–जनताबीचको सम्पर्क, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको थियो । त्यसपछि दुई देशका सम्बन्धित अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।
समझदारी र सहमतिमा उल्लेख भएका बुदाँहरूः
-टोखा छहरे सुरुङ मार्गसम्बन्धी समझदारी

-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी
-नौतले वसन्तपुर दरबार पुननिर्माण सम्बन्न सम्बन्धी प्रमाणपत्र आदान प्रदान
-प्रशोधित बफ्यालो मिट निर्यात सम्बन्धी प्रोटोकल
-विकास निर्माणसम्बन्धी समझदारी पत्र
-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
-नगद सहयोग सम्बन्धी पत्र आदान प्रदान
-स्यंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी
-एनटीभी र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

















