रोल्पा – रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणमा खटिएका ५ जना मजदुरको दुर्घटनामा परेर मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ९:५० बजेतिर पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा मजदुरलाई माथिबाट खसेको पहिरोले पुरेको हो ।

पहिरोमा पुरिएकामा तीन पुरुष र दुई महिला छन् । सबैको शव निकालिएको र शवको पहिचान पनि गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । पुल बनाउने जिम्मेवारी लिएको ठेकेदार कम्पनी एल.बी.एन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाअन्तर्गत ती मजदुर काममा खटिएका थिए ।

खाल्डा पुर्ने काममा ७ जना सहभागी भए पनि २ जना भागेर जोगिन सफल भएकाले उनीहरू सकुशल छन् । मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका-३ बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियार छन् । उनीहरू आफन्त र एकै गाउँ निवासी हुन् ।