बाजुरा – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा चार दलीय प्रतिस्पर्धा हुने भएको छ । यस अघि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो उम्मेदवार तय गरिसकेका थिए । नेकपा एकीकृत समाजवादीले पनि ढिलोगरि उम्मेदवार तय गरेसँगै उपनिर्वाचनमा चार दलीय प्रतिस्पर्धा हुन लागेको हो । समाजवादीले जवा शाहीलाई आफ्नो उम्मेदवारको रुपमा अघि सारेको छ । नेपाली काँग्रेसले पुलतीसरा शाही, नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढा र माओवादी केन्द्रले राजु कुमारी विकलाई उम्मेदवार बनाएको छ ।
काँग्रेस, माओवादी र समाजवादी मिलेर नै चुनाव लड्ने योजनामा बनाएका थिए । यी तीन दलले वार्ता समिति समेत गठन गरेका थिए । माओवादीले केन्द्रीय सचिवालयको निर्णय अनुसार समाजवादी मोर्चामा मात्रै सहकार्य गर्ने भन्दै आफ्नो उम्मेदवार घोषणा गरेको थियो । माओवादीले उम्मेदवार घोषणा गरेको केहीदिन पछि नेकपा एकीकृत समाजवादीले उम्मेदवार सार्वजनिक गरेको हो । गाउँपालिकामा मङ्सिर १६ गते हुने उपनिर्वाचन हुन लागेको छ ।
यहाँ २०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । उपाध्यक्षमा मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी एमालेकी सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याइन् । त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका थिए ।
यहाँ माओवादीले अध्यक्षमा नेकपा एकीकृत समाजवादीलाई र उपाध्यक्षमा नेकपा एकीकृत साजवादीले माओवादीलाई साथ दिएको थियो । ७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने छन् । ती मध्ये सबैभन्दा बढी २ हजार १० मत ३ नम्बर वडा जुकोटमा छन् । जुकोटबाट समाजवादी र काँग्रेसले उम्मेदवार बनाएको छ । भने नेकपा एमाले र माओवादीले साप्पाटा क्षेत्रबाट उम्मेदवार बनाएको छ ।
यता राप्रपाले पनि उम्मेदवार बनाउने घोषणा गरेपनि अझै नाम सार्वजनिक गरेको छैन् । रास्वपा भने उम्मेदवार उठाउने विषयमा मौन रहेको छ । स्वामिकार्तिकमा मैनादेवी जैसीको निधन पछि मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।